अर्थमन्त्री खनाल र नेपालका लागि कोरियाका राजदूतबीच शिष्टाचार भेटघाट

कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको र कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिइने विषयमा छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

साथै कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिइने बताए ।

सो अवसरमा राजदूत पार्कले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको स्मरण गर्दै आगामी दिनमा थप समन्वय र सहकार्यका आशा व्यक्त गरे ।