नेपाली काँग्रेस र नेकपा एसको केन्द्रिय समिति/कमिटी बैठक जारी

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले ५४ प्रतिशत गत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित नियमित महाधिवेशनको माग राखेका छन् । तर संस्थापन पक्षधरले भने मिति सकिसकेका महाधिवेशन प्रतिनिधिको कुनै अर्थ नरहने बताउँदै आएका छन् ।

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ। बैठकमा महाधिवेशनबारे विशेष छलफल हुनेछ । साथै पार्टी निर्वाचनमा जाने की संसद पुनःस्थापनाको पक्षमा उभिने भन्ने पनि निर्णय गर्ने बताइएको छ। दशैँपछिबाट शुरु भएको केन्द्रिय समितिको बैठक तिहार र छठका कारण आजलाई सरेको थियो ।

नेताहरुले नियमित महाधिवेशन हुनुपर्ने र त्यो हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग गर्दै आएका छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले ५४ प्रतिशत गत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित नियमित महाधिवेशनको माग राखेका छन् । तर संस्थापन पक्षधरले भने मिति सकिसकेका महाधिवेशन प्रतिनिधिको कुनै अर्थ नरहने बताउँदै आएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर गएको अवस्थामा पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति देउवालाई गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सांघातिक आक्रमण भएको थियो ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समिति बैठक आज पनि जारी छ । बुधवारदेखि काठमाडौंको सुकेधारमा बसिरहेको बैठक आज बिहान ११ बजे फेरि बस्दैछ ।

बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नेबारे निर्णय लिने बताइएको छ । यद्यपि पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाल भने माओवादीसँग पार्टी एकता गर्न नहुने पक्षमा छन् । माधव नेपालसहितका नेताहरु पार्टी एकता गरेर जाने पक्षमा रहेका छन् । आज बैठक सम्पन्न भएसँगै यसबारे पार्टीको आधिकारिक धारणा आउनेछ ।