रवि लामिछाने र छविलाल जोशीको मुद्दा सुनुवाइ स्थगित

बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा तोकिएको पेशी जोशीका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको हो ।

काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ ।

बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा तोकिएको पेशी जोशीका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्ना हिस्साको बिगो रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए । यसअघि सहकारी ठगीसम्बन्धी बिगो बमोजिमको रकम बुझाएर थुनामुक्त भएर मुद्दा लड्न पाउन भनी दायर गरिएको निवेदनमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले दुवै मुद्दा संयुक्त रूपमा हेर्ने आदेश दिएको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछानेले उक्त रकमको चार भागमध्ये आफ्नो भाग बराबरको रकम बुझाएको कागजात पेश गरेका थिए । उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसहित पेस गरेका थिए ।