नेप्सेमा सूचीकृत २७६ मध्ये २६ कम्पनीको लाभांस घोषणा, युनिलिभरले १८४२ दिँदा सिटिजन्सको ५ प्रतिशत

नेप्सेमा बैंक तथा वित्तीय संस्था (लघुवित्त र बीमा कम्पनीसमेत) १३२ संस्था सूचीकृत छन् भने ९४ जलविद्युत, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका कम्पनी छन् ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २६ कम्पनीहरुले गत वर्षको नाफा र सञ्चित रकमबाट सेयरधनीहरुलाई लाभांस घोषणा गरेका छन् । गत भदौसम्म नेप्सेमा सूचीकृत २७६ कम्पनीमध्ये २६ ओटाले लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गरेका कम्पनी मध्ये युनिलिभर नेपालले सबैभन्दा धेरै १८४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । युनिलिभरलाई पछ्याएको सोल्टी होटेलले ३१.५७ प्रतिशत लाभांश घोषणा गरेको छ । सोल्टीलाई पछ्याएको हिमालयन डिस्टिलरीले २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उता, सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सिटिजन्स बैंक इन्टरनेसनल अगाडी छ । सिटिजन्सले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम लाभांस दिनेमा प्रतिस्पर्धामा गरिरहेको पुर्वाधार विकास बैंक (निफ्रा)ले ६.३२ प्रतिशत लाभांस घोषणा गर्दा सानिमा बैंकले ७.३७ प्रतिशत लाभांस प्रस्ताव गरेको छ ।

बुधबार बिहानसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये ७ वटा वाणिज्य बैंक छन् भने ४ वटा विकास बैंक छन् । जबकी नेप्सेमा १९ वाणिज्य बैंक र १५ विकास बैंक सूचीकृत छन् । त्यस्तै, पूर्वाधार विकास बैंक (निफ्रा) सँगै १६ वित्त कम्पनीमध्ये मन्जूश्री फाइनान्सले लाभांस घोषणा गरेको छ । दुई वटा लघुवित्तले पनि लाभांश घोषणा गरेका छन् । उता, ९४ जलविद्युत कम्पनीमध्ये ५ कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा बैंक तथा वित्तीय संस्था (लघुवित्त र बीमा कम्पनीसमेत) १३२ संस्था सूचीकृत छन् भने २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका कम्पनी छन् ।