लुटेका हतियार र भागेका कैदी प्रयोग गर्दैनौं भनेर दलहरुले स्वघोषणा गर्नुपर्छ: गृहमन्त्री अर्याल

भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधि क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्छ ।

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार निर्वाचन अघिसम्म रिकभर गरिने बताएका छन् । ती हतियारहरु राजनीतकि दलहरुले दुरुपयोग गर्न नहुनेमा उनले जोड दिए ।

आज आयोजित पत्रकार सम्मेलनमा अर्याललाई लुटिएका हतियारले चुनावमा जोखिम उत्पन्न गर्दैन ? भनेर सोधिएको थियो । जवाफमा शर्माले हतियारहरु कुनै पनि संगठित गिरोहको हातमा नपुगेको दावी गरे ।

उनले भने, ‘हाम्रो विश्लेषणले ती हतियारहरु कुनै संगठित गिरोहको हातमा पुगेको छैन र पुग्दैन भन्ने नै छ । उनीहरु असंगठितरुपमा लुकिछिपी बसेका छन् । त्यसलाई जसरी पनि रिकभर गछौं । ती भागेका कैदीबन्दीहरु र हतियारलाई राजनीतिक दलले प्रयोग गर्ने वा सहयोग लिने छैनौं भनेर स्वघोषणा गर्नुपर्यो । अरुलाई प्रयोग गर्न दिँदैनौं ।’

भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधि क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने उनको माग छ ।