पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा, लागतको दोब्बर बढाएर स्वास्थ्य उपकरण खरिद

अख्तियारले पाँचवटा थ्री–डी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार भएको आरोप लगाएको हो । ६ करोड ४३ लाख रुपैयाँका उपकरणलाई दोब्बरभन्दा बढी भाउ राखेर खरिद गरेकाले भ्रष्टाचारको मुद्दा चलाउनु परेको अख्तियारको दाबी छ ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । केही साताअघि जेन जीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रसहित १५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेश गरेको हो ।

मिश्रामाथि १४ करोड ४३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । प्रति थान २ करोड ५१ लाख रुपैयाँका दरले ५ वटा मेसिनका लागि १२ करोड ५५ लाखको प्रस्ताव थियो । तर भ्याट समेत जोडेर १४ करोड १८ लाखको लागत तयार पारिएको थियो ।

उनीहरुमाथि थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप छ । स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. संगीता कौशल मिश्रा, निर्देशक डा. श्रवण कुमार थापा, बरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमाल लाल, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्लेविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

यसैगरी जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, शाखा अधिकृत यादव प्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, कानून अधिकृत सीता घिमिरे, बायोमेडिकल इञ्जिनियर आशिष चौहान र पद्मा मिश्र तथा जनस्वास्थ्य निरीक्षक सञ्जय कुमार साह र लेखापाल तिलकराम ढकालविरुद्ध पनि मुद्दा दायर भएको छ । यसैगरी ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा.लिका त्यसका सञ्चालक सुन्दर भुसालविरुद्ध पनि मुद्दा दायर भएको छ ।

अख्तियारले पाँचवटा थ्री–डी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार भएको आरोप लगाएको हो । ६ करोड ४३ लाख रुपैयाँका उपकरणलाई दोब्बरभन्दा बढी भाउ राखेर खरिद गरेकाले भ्रष्टाचारको मुद्दा चलाउनु परेको अख्तियारको दाबी छ ।

स्वास्थ्य सेवा विभागले प्रति थान २ करोड ५१ लाख रुपैयाँका दरले पाँचवटा मेसिन खरिद गरेको थियो, जसको मूल्य १२ करोड ५५ लाख पर्‍यो । त्यसमा भ्याट समेत जोड्दा १४ करोड १८ लाख रुपैयाँ भुक्तानी भएको हो ।

लागत अनुमानको १ दशमलव ५७ अर्थात् २० लाख रुपैयाँ मात्रै कम प्रस्ताव गरेर सामान खरिदको निर्णय भएकोमा अख्तियारले प्रश्न उठाएको हो ।

त्यतिबेला कोभिड रोकथाम र नियन्त्रण कार्यक्रम अनुसार, स्वास्थ्य संस्थाहमा न्यूनतम सेवा मापदण्ड अनुसार स्तरोन्नत गर्न बजेट निर्धारण भएको रहेछ । त्यही बजेटबाट विभागले ती उपकरण खरिद गरेको हो । इटालीमा बनेका ती उपकरण धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको क्यान्सर अस्पताल, निजामती अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा पठाइएको थियो ।

ख्तियारले ती उपकरण लागतबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रापनपत्र परीक्षण गरेको थियो । प्रापनपत्र अनुसार, ४ लाख ५० हजार युरोमा ती उपकरण खरिद भएको रहेछ ।

प्रतियुरो १४३ रुपैयाँका विनिमय दरले हिसाब गर्दा त्यतिबेला मेसिनको मूल्य ६ करोड ४३ लाख परेको खुल्यो । त्यसको भन्सार र भ्याट गरेर ५६ लाख ३९ हजार गरी कुल ६ करोड ९९ लाख मात्रै लागत परेको रहेछ । ७ करोडको सामानको लागत दोब्बर बनाई लागत अनुमान तयार गरेकोमा अख्तियारले प्रश्न उठाएको देखिन्छ ।