देश र जनताप्रति बफादार भएका कारण दम्भी र अहंकारी करार गरियोः एमाले अध्यक्ष ओली
मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुमा दम्भ र अहंकार नभएर सत्य बोल्ने बानी रहेको बताएका छन् ।
आइतबार सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलका क्रममा पूर्वप्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुँदा समाचार लेखेका कारण कोही पनि त्रसित हुनुपर्ने स्थिति नरहेको बताए ।
देश विकासको बाटोमा अघि बढेको समयमा जेनजीले गरेको आन्दोलनका कारण सबै भताभुंग भएको दाबी गर्दै ओलीले अझै पनि कतिपयलाई फेरी केपी ओली प्रधानमन्त्री हुन्छ की भनेर चिन्ता लागेको बताए । आफ्नो नीति, शिद्धान्त व्यवहार कायमै रहेको बताउने ओलीले आफू देश र जनताप्रति पूर्ण बफादार भएको दाबी गरे । कसैलाई मन परे पनि नपरे पनि बफादारिता नछाड्ने नछाड्ने ओलीको कथन छ ।
‘शान्ति सुव्यवस्था थियो । भंग भएको छ । निर्धक्क वातावरण थियो । त्रासदी छ । देश विकासको बाटोमा अघि बढ्दै थियो । सार्वभौमसत्ताको संरक्षण गरेर अघि बढ्दै थियो । त्यो भताभुंग भएको छ । अस्थिरतामा गएको छ,’ ओलीले भने, ‘अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’