२००७ सालपछिका सबैको सम्पत्ति छानबिन गरेपनि म तयार छु : केपी ओली
संसद् विघटनको अधिकार कसले दियो ?
सात साल पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं । ४६ पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं । ६२/६३ पछिको छानबिन गर्ने हो भने पनि गरौं कहिले देखिको छानबिन गर्ने सम्पत्ति विवरण छानबिन गरौं ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछिका सबै छानबिन गर्नुपर्ने भएपनि आफू तयार रहेको बताएका छन् ।
जेनजी आन्दोलपछि शनिबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका अधयक्ष ओलीले २००७ साल, २०४६ साल र २०६२/६३ जतिबेलाको पनि सम्पत्ति छानबिन गर्न आफू तयार रहेको जिकिर गरे ।
सात साल पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं । ४६ पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं,’ ओलीले भनेका छन्, ‘६२/६३ पछिको छानबिन गर्ने हो भने पनि गरौं कहिले देखिको छानबिन गर्ने सम्पत्ति विवरण छानबिन गरौं ।’
उनले देशभरका नेता कार्यकर्तालाई सरकार र प्रतिनिधिसभा विघटनविरुद्ध लाग्न तयारीमा जुट्न समेत आग्रह गरे ।
‘दिनै पिछे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने ? कसरी झुटा मुद्दा लगाउने? भनेर बैठक बसेर बन्छ देश । केमा मुद्दा लाउनु हुन्छ र ? केमा ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा ? तपाईंलाई रिस उठ्यो भन्दैमा थुन्ने ? कि अरु कुनै आधार छ, कारण छ ? फेरी हामीले भनेका छौं हाम्रो पार्टीले भनेको छ,’ उनले भनेका छन् ।
ओलीले चाडपर्वको प्रसंग उल्लेख गर्दै सामाजिक मूल्य मान्यता र मर्यादा पालना हुन छाड्दा भदौ २४ को घट्ना भएको बताए । ‘समाज बेथितिमा गयो भने, समाजले सामाजिक मूल्य मान्यता र उचित मर्यादाहरूको पालना गर्न छोड्यो भने के हुन्छ ?,’ उनले भने, ‘२४ गतेको घटना जस्तै देशमा अराजकता हुँदो रहेछ। परिस्थिति काबुभन्दा बाहिर जाँदो रहेछ ।’ उनले नेपालमा सामाजिक मूल्य मान्यतामाथि प्रहार हुन थालेको लामै समय भइसकेको उल्लेख गर्दै यसलाई संस्कृति माथिको हमलाको संज्ञा दिए ।
‘तिमी भन्ने, अश्लील गालीगलौज गरेर मानमर्दन गर्ने, यो परम्परा चल्दै गयो । यसले मानवीय एकता, मानवीय संवेदना जस्ता कुराहरू रहन छोड्दै गए,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘विध्वंस केही घण्टामा गर्न सकिन्छ/सकिँदो रहेछ ।’
ओलीले नातावादविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको नेपो बेबी ट्रेन्ड र मि टू अभियानको पनि आलोचना गरे । ‘के बेबी अरे ? नेपोबेबी । अब त्यो बच्चाको के दोष ? बाउ आमाले प्यारो गरे होलान्, माया गरे होलान्, म्वाइँ खाए होलान्, काखा लिए होलान्, कोक्रामा राखेर हल्लाए होलान्, झुलाए होलान्, सरसफाई गरिदिए होला । बुबु माम खुवाइदिए होलान्’ उनले थपे, ‘सधै थप्पड हानेर रुवाई रहनु पर्थ्यो कि के गर्नु पर्थ्यो त्यसलाई ? त्यो त होइन होला । बाउ आमाले माया गरेर हुर्काए-नेपो बेबी !’
ओलीले जनमतबाट आएको संसद्लाई विघटन गरिएकोप्रति आपत्ति जनाए । उनले भने, ‘निर्वाचन आयोगले दबाबमा होइन कानुन सम्बत आवधिक ढंगले तोके अनुसार भएको निर्वाचन बाट कानुनी सबै प्रक्रिया पुरा गरेर जनताको अभिमत बाट आएको जनप्रतिनिधि हरुको संस्था सर्वोच्च संस्था संसद विघटन गर्ने अधिकार कल्ले दियो ?’ उनले एमाले संसद् विघटनको विरुद्धमा लाग्ने पनि प्रष्ट पारेका छन् ।