टी-२० विश्वकप छनोटः नेपाल र सामोआबीच आज खेल हुँदै, उपाधि जितेमा खेलाडीले जनही साढे १९ लाख पाउने
सामोआसँगको खेल जितेमा नेपाल अपराजित रहँदै प्रतियोगिताको विजेता हुनेछ । यदि नेपालले हार्यो र ओमानले पनि अन्तिम म्याचमा जापानसँग हार्यो भने पनि नेपाल नै विजेता हुन्छ । तर, नेपालले हार्यो र ओमानले जित्यो भने रन रेटका आधारमा नेपाल र ओमानमध्ये एक विजेता बन्नेछन् ।
काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट प्रतियोगिताको अन्तिम खेल आज नेपाल र सामोआबीच हुँदैछ।
नेपाली समय अनुसार साँझ सवा चार बजे खेल शुरु हुनेछ । नेपालले आफ्नो अविजित यात्रा जारी राख्न र ट्रफीका लागि खेल्दैछ भने सामोआ सुपरसिक्समा आफ्नो पहिलो जितको लागि खेल्नेछ । दुई खेल खेल्न बाँकी हुँदा नै विश्वकपमा छनोट भइसकेको नेपाल ८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । सामोआसँगको खेल जितेमा नेपाल अपराजित रहँदै प्रतियोगिताको विजेता हुनेछ । यदि नेपालले हार्यो र ओमानले पनि अन्तिम म्याचमा जापानसँग हार्यो भने पनि नेपाल नै विजेता हुन्छ । तर, नेपालले हार्यो र ओमानले जित्यो भने रन रेटका आधारमा नेपाल र ओमानमध्ये एक विजेता बन्नेछन् ।
नेपालले ओमानमा जारी टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको खण्डमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
खेलकुद विकास नियमावली २०७९ मा विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था छ । दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए ।
नियमावली अनुसार नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् । यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ ।
छनोट प्रतियोगिताको उपाधि जितेमा प्रमुख प्रशिक्षकले ६ लाख २५ हजार रकम पाउनेछन् । यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइनेछ । दोस्रो भएमा प्रमुख प्रशिक्षकले ३ लाख ९० हजार र अफिसियलहरुले एक लाख ९१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उपाधि जितेमा नेपाल क्रिकेट संघ (क्यान) ले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो भएमा ३ लाख ९० हजार र तेस्रो भएमा दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
यी २० टोली भिड्नेछन् भारत र श्रीलंकामा हुने विश्वकपमा
एसिया तथा इस्ट एशिया प्यासिफिक छनोटबाट नेपाल, ओमन र संयुक्त अरब इमिरेट्स (युएई) आगामी वर्ष सत् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रुपमा हुने पुरुष टी-२० विश्वकपका लागि टिकट काटेसँगै विश्वकपमा सहभागि हुने २० टोलीको टुंगो लागेको छ । आगामी विश्वकमा आयोजक राष्ट्रका रुपमा भारत र श्रीलंकासहित नेपाल, ओमन, युएई, अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, अफगानिस्तान, अमेरिका, न्युजिल्यान्ड, पाकिस्तान, आयरल्यान्ड, नेदरल्यान्ड्स, क्यानाडा, इटाली, जिम्बावे र नामिबिया विश्वकपको प्रतिस्पर्धामा छन् ।
२०२६ को प्रतियोगितामा सहभागी २० टोलीहरूलाई चार समूहमा विभाजन गरिनेछ। प्रत्येक टोलीले राउन्ड–रोबिन ढाँचामा एक पटक अन्यसँग खेल्नेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर ८ मा प्रवेश गर्नेछन् ।
सुपर ८ मा पनि दुई समूह बनाएर समूहभित्रका सबै टीमले एकअर्कोसँग एक पटक खेल्नेछन् र माथिल्ला दुई-दुई टोली फाइनलका लागि प्रवेश गर्नेछन् ।