अस्पताल बाहिरै शिशु जन्माएको घटनामा कर्मचारीमाथि कारबाही सिफारिस

विज्ञापन
ncell

समितिका अनुसार अस्पताल पुगेकी गर्भवतीलाई उपचारका लागि रोक्न, आवश्यक परामर्श दिन तथा उनको अवस्थाबारे खोजी गर्न ड्युटीमा रहेका चिकित्सक, नर्स, प्यारामेडिक्सलगायत कर्मचारीबाट कमजोरी भएको देखिएको छ ।

काठमाडौं । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा प्रसूति सेवाका लागि पुगेकी बबिता पासवानले पैसा नभएका कारण सडक पेटीमै शिशु जन्माएको घटनामा छानबिन समितिले अस्पताल प्रशासन, स्वास्थ्यकर्मी र आमा सुरक्षा कार्यक्रम कार्यान्वयनमा कमजोरी औंल्याएको छ ।

समितिका अनुसार अस्पताल पुगेकी गर्भवतीलाई उपचारका लागि रोक्न, आवश्यक परामर्श दिन तथा उनको अवस्थाबारे खोजी गर्न ड्युटीमा रहेका चिकित्सक, नर्स, प्यारामेडिक्सलगायत कर्मचारीबाट कमजोरी भएको देखिएको छ । उनीहरूसहित थप केही व्यक्तिमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।

समितिले सेवाग्राही र स्वास्थ्यकर्मीबीचको बुझाइको कमी, गरिबी, अशिक्षा तथा स्वास्थ्य सेवासम्बन्धी जानकारीको अभावलाई पनि घटनाका कारण मानेको छ । साथै, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई नै आमा सुरक्षा कार्यक्रम अन्तर्गत उपलब्ध सेवाबारे पर्याप्त जानकारी नभएको पाइएको जनाएको छ ।

प्रसूति सेवा मात्रै नभई त्यससँग सम्बन्धित आवश्यक प्रयोगशाला परीक्षणसमेत निःशुल्क हुने व्यवस्था स्पष्ट गर्नुपर्ने समितिको निष्कर्ष छ । अस्पतालमा आइसकेकी बिरामी दुई-तीन घण्टासम्म बाहिर रहँदा पनि खोजी नगर्नु प्रशासनिक कमजोरी भएको समितिले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित टोलीले भदौ २५ देखि २७ गतेसम्म स्थलगत अध्ययन गरी प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ ।