कानुन संशोधन गरेर भए पनि सहकारी ठगलाई कारबाही गर्नैपर्छ : प्रधानमन्त्री कार्की

ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन । यिनीहरू महंगा सुनका घडी लगाएर हिँड्छन् । गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन् । उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी समस्या नियमन प्राधिकरण, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका सदस्यहरूलाई एकै ठाउँमा राखेर छलफल गरेकी थिइन् ।

सो छलफलमा उनले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हातमा छाड्न नहुने बताइन् । ‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन । यिनीहरू महंगा सुनका घडी लगाएर हिँड्छन् । गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं ।’

अहिलेकै सरकारले यो समस्या समाधान नगरे अरु कसैले पनि नगर्ने भन्दै कार्कीले भनिन्, ‘सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्छ । हामीले नगरे कसले गर्ने ? यही सरकारले गर्छ । पीडित चाहीँ सडकमा रोएर हिँड्ने, अनि जो ठग हो त्यो चाहीँ सुकिलो मुकिलो भएर हिँड्ने हुँदैन । यो सभ्य समाजको परिचय होइन । उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि, विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नुपर्छ ।’