सेयर बजार एक वर्षकै न्यून विन्दुमा, २४८७.१७ अंकमा नेप्से

समाज लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले घटेर ऋणात्मक सर्किट नै लाग्यो । ग्रामीण विकास लघुवित्तसँग मर्जर भई कात्तिक २ गते एकीकृत कारोबार गर्ने प्रक्रियामा रहेको समाजको सेयर मूल्य पछिल्ला केही दिनदेखी निरन्तर घटिरहेको छ ।

काठमाडौं । बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८.४० अंक घटेर २४८७.१७ अंकमा झरेको छ ।

बिहीबार बन्द भएको नेप्से सूचक २०८१ असोज १३ यताकै न्यून हो । केही दिनयता नेप्से सूचक निरन्तर ओरालो लागेको छ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि नियामकहरुले सेयर बजारको नियमन खुला गर्दै लगेपनि लगानीकर्तामा आत्मविश्वास जाग्न सकेको छैन ।

बिहीबार ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो । बिहीबार बुधबारको तुलनामा कारोबार रकम केही बढेको छ । बुधबार ३ अर्ब १० करोडको कारोबार भएकोमा आज बिहीबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

बिहीबार बैंकिङ समूह सूचक ०.०२ प्रतिशत बढ्दा अन्य सबै समूह सूचकहरु घटेका छन् । सबैभन्दा बढी अन्य समूह सूचक २.२१ प्रतिशतले घटेको छ । त्यसपछि वित्त कम्पनी १.२८, विकास बैंक १.१५, हाइड्रोपावर १.०३, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन र लघुवित्त ०.७३, निर्जीवन बीमा ०.५३, लगानी ०.४९ र व्यापार समूह ०.३९ प्रतिशत घटे ।

बिहीबार हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशत बढ्यो भने समाज लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले घटेर ऋणात्मक सर्किट नै लाग्यो । ग्रामीण विकास लघुवित्तसँग मर्जर भई कात्तिक २ गते एकीकृत कारोबार गर्ने प्रक्रियामा रहेको समाजको सेयर मूल्य पछिल्ला केही दिनदेखी निरन्तर घटिरहेको छ ।

बिहीबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथको १८.२० प्रतिशत लाभांस सुरक्षित गर्ने दिन भएकाले पनि आज बढी कारोबार भएको देखिन्छ । मुक्तिनाथको बिहीबार १५ करोड ३० लाख ९७ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।