आज ४५औं विश्व खाद्य दिवस मनाइँदै
सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औं साधारणसभाले सङ्गठनको स्थापना भएको दिनका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको स्मरणमा सन् १९८१ देखि खाद्य दिवस मनाउँदै आइएको छ ।
काठमाडौं । सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । प्रत्येक वर्ष अक्टोबर १६ मा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरिएको छ ।
कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ । समारोह मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
दिवसले भोकमरीपीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।
दिवसका अवसरमा राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरूसँगको समन्वयमा प्रचारप्रसार, नारामा आधारित अन्तरक्रिया, लेख–रचना प्रकाशन तथा अन्य विभिन्न कार्यक्रम गरिने छ ।
सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औं साधारणसभाले सङ्गठनको स्थापना भएको दिनका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको स्मरणमा सन् १९८१ देखि खाद्य दिवस मनाउँदै आइएको छ ।