पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश, निर्दोष भन्ने अवस्था रहेन
महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई फोन गरी जफत गरिएका सामानबारे भनसुन गरेको पनि प्रमाणित भएको अदालतको आदेशमा उल्लेख छ ।
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पूर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम बुधवार थुनछेक आदेशपछि महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि अदालतले प्रस्तुत प्रमाण र बयानका आधारमा महरालाई तत्काल निर्दोष ठहर गर्न सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई गत आइतबार पक्राउ गरेको थियो । महरामाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।
अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको छ । दुवैबीचको मिलेमतोमा इ–सिगरेट (भेप) मार्फत सुनको तस्करी गरिएको आरोप लगाइएको छ ।
प्रमाण अनुसार, महरासँगै उनका छोरा रेशम (राहुल) महरा र बुहारी विमला महरा को मोबाइल नम्बरबाट समेत दावजिन वाङसँग पटक-पटक कुराकानी भएको भेटिएको छ। महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई फोन गरी जफत गरिएका सामानबारे भनसुन गरेको पनि प्रमाणित भएको अदालतको आदेशमा उल्लेख छ ।
भन्सार कार्यालयले २०७९ फागुन २१ गते इ–सिगरेट ७३० थान जफत गरेको थियो, जसको न्यूनतम मूल्य पाँच लाख ११ हजार रुपैयाँ तोकिएको थियो । तर उक्त इ–सिगरेटको आवरणमा करिब ९.५ किलो सुन लुकाएको पाइएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण छानबिन आयोग, २०८० को प्रतिवेदन, प्रहरीले बुझाएको प्रतिवेदन, मोबाइल कल डिटेल र प्रत्यक्ष साक्षीका बयान अदालतमा प्रमाणका रूपमा पेश गरिएको छ ।