बीमकहरुले दुई महिनामा गरे सवा ४४ अर्बको व्यापार, बीमाको दायरामा ४९.१९ प्रतिशत समेटिए

अर्थ मन्त्रालयले अब उप्रान्त सबै सरकारी सम्पत्तिलाई बीमाको दायरामा ल्याउन निर्देशन दिएको छ, जसले बीमा क्षेत्रमा अर्बौंको व्यवसाय थपिने अनुमान छ ।

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को बीमा कम्पनीहरुले पहिलो दुई महिना भदौसम्म सवा ४४ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले भदौसम्म ४४ अर्ब २८ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो वर्ष २०८१/८२ को भदौसम्म कम्पनीहरुले ३८ अर्ब १ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १६.४९ प्रतिशतले बढेको छ ।

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले भदौसम्म ३५ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्ष भदौसम्मको ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँको तुलनामा १९.३४ प्रतिशतले बढी हो । भदौसम्म जीवन बीमा कम्पनीहरुले ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र २८ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन् । समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ५९ लाख ३६ हजार ७७१ वटा रहेको छ ।

यसैगरी चालु आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो वर्ष भदौसम्म कम्पनीहरुले ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ५.५५ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको भदौसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५७ लाख ९८ हजार ७८३ वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा १.७८ प्रतिशतले कम हो। अघिल्लो वर्ष भदौसम्म यो संख्या ५६ लाख ९७ हजार ५६६ वटा थियो।

समीक्षा अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७५ लाख ४५ हजार ९३३ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २५ लाख ९२ हजार ५५ वटा रहेको छ। अघिल्लो वर्ष भदौसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ५९ लाख ३१ हजार ३१९ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २१ लाख ५५ हजार २०३ वटा थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या २७.२२ प्रतिशत र वैदेशिक रोजगार बीमालेख संख्या २०.२७ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको भदौसम्म बीमाको दायरामा आएको जनसंख्या बढेर ४९.१९ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष भदौसम्म बीमाको दायरामा आएको जनसंख्या ४२.९२ प्रतिशत थियो।

गएको एक वर्षमा नेपालमा दुई वटा ठूला बाढी पहिरोका घट्ना तथा जेनजी आन्दोलन र राजावादीहरुको आन्दोलनका कारण निजी तथा सरकारी सम्पत्तिमा तोडफोड भयो । प्राकृति विपत्ति र आन्दोलनका कारण बीमा कम्पनीहरु थप दबाबमा परे जसले गर्दा आगामी दिनमा बीमा गर्नुपर्छ भन्ने बीमा सचेतनामा समेत वृद्धि भएको बीमा कम्पनीका अधिकारीहरु बताउँछन् । जेनजी आन्दोलनको कारण एक खर्बभन्दा बढीको नोक्सानी हुँदा अहिलेसम्म २३ अर्ब २२ करोड रुपैयाँको मात्रै दाबी परेको छ । बीमा कम्पनीहरुमा थामिनसक्नुको दाबी पर्ने अनुमानका बीच एकदमै कम दाबी परेको अनुमान गरिएको छ । बीमा जानकारहरुकाअनुसार नेपालमा बीमाको दायरा अझै वृद्धि गर्न बाँकी नै रहेको छ ।

जेनजी आन्दोलनको कारण निजी क्षेत्रले सञ्चालन गरेको एनसेल, हिल्टन होटल, चन्द्रागिरी हिल्स, तारागाउँ रिजेन्सी होटल, भाटभटेनी सुपरमार्केटलगायतमा अर्बौंको सम्पत्ति नष्ट भएको छ । सरकारी सम्पत्तितर्फ संसद भवनको रुपमा प्रयोग हुँदै आएको बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति भवन, भैसेपाटीको मन्त्री निवास, बालुवाटारको प्रधानमन्त्री निवाससँगै सर्वोच्च अदालत, विभिन्न मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका देशैभरीका मुख्य संरकारी संरचना ध्वस्त भएका छन् । अर्थ मन्त्रालयले अब उप्रान्त सबै सरकारी सम्पत्तिलाई बीमाको दायरामा ल्याउन निर्देशन दिएको छ, जसले बीमा क्षेत्रमा अर्बौंको व्यवसाय थपिने अनुमान छ ।



प्रकाशन भएका दस्तावेजहरू

68ef27f470763_1760503796.pdf