वित्तीय संस्थाको सिएसआर खर्च गर्न नयाँ मार्गदर्शन, जेनजी आन्दोलन प्रभावितको हितलाई हेर्न सकिने

राष्ट्र बैङ्कले ‘बैङ्क तथा वित्तीय संस्था र पूर्वाधार बैङ्कले सामाजिक उत्तरदायित्व वापतको रकम शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य र अन्य क्षेत्रमा खर्च गर्न तोकिदिएको हो ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) को रकम खर्च गर्न विभिन्न ७ वटा तोकिदिएको छ । 

राष्ट्र बैङ्कले ‘बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैङ्क तथा वित्तीय संस्था र पूर्वाधार बैङ्कले सामाजिक उत्तरदायित्व वापतको रकम शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य र अन्य क्षेत्रमा खर्च गर्न तोकिदिएको हो ।

राष्ट्र बैङ्कले जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था पनि गरिएको छ । योसँग सिएसआरको रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । बैङ्क तथा वित्तीय संस्थाले खुद नाफाको एक प्रतिशत बराबरको रकम अनिवार्य रूपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

केन्द्रीय बैङ्कले मागर्दशनमा भनेको छ, 'जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई खर्च गर्न सकिनेछ ।'

यस्तै जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जनको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई पनि उल्लेख गर्न सकिने प्रबन्ध गरिएको छ ।

राष्ट्र बैङ्कले मागर्दशनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नपर्ने कार्यसमेत तोकिदिएको छ ।