मूल्यवृद्धि १.८७ प्रतिशतमा सीमित, महङ्गीको चाप कोशीमा अधिक र सुदुरपश्चिममा कम

भदौसम्म खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ ।

काठमाडौं । मूल्यवृद्धि १.८७ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ) को तथ्यांक अनुसार भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशतमात्र रहेको देखिएको छ ।

अघिल्लो आव २०८१/८२ को यसै महिना मुद्रास्फीति ३.८६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस महिना खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशत ऋणात्मक बनेको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत छ । अघिल्लो आव भदौमा खाद्यको ५.०६ र गैरखाद्य समूहको मुद्रास्फीति ३.१९ प्रतिशत थियो ।

भदौसम्म खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७४ प्रतिशत, मरमसलाको ६.३१ प्रतिशत र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.७७ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको४.५५ प्रतिशतले बढेको छ ।

बीमा तथा वित्तीय सेवा उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको छ । भदौ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.७३ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.९१ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९९ प्रतिशत, मधेश प्रदेशको १.७४ प्रतिशत, बागमती प्रदेशको १.७२ प्रतिशत, गण्डकी प्रदेशको १.४७ प्रतिशत, लुम्बिनी प्रदेशको १.७६ प्रतिशत, कर्णाली प्रदेशको १.८५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.८८ प्रतिशत रहेको छ । भदौ महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२१ प्रतिशत, तराईको १.७० प्रतिशत, पहाडको १.६८ प्रतिशत र हिमालको २.५१ प्रतिशत रहेको छ ।