बागमती सरकारले जेनजी विद्रोहमा जलेका सवारीको कर छुट र निःशुल्क दर्ता खारेज गर्ने
जेनजी आन्दोलनमा प्रदेश भित्र २१ करोड ६७ लाख ५५ हजार मूल्य बराबरको सरकारी सवारी साधन चार पाङ्ग्रे ५३ वटा र दुई पाङ्ग्रे १४२ वटा गरी कुल १९५ सवारी क्षति भएको छ ।
काठमाडौं । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जेनजी आन्दोलनमा जलेर नष्ट भएका सावरी साधनको नवीकरण दस्तुर पूर्ण रुपमा छुट गर्दै निःशुल्क दर्ता खारेजी गरिदिने भएको छ । आंशिक क्षति भएका सवारी साधनहरु, प्रयोगमा नआउने समय सम्मका कर मिनाहाको प्रक्रिया अगाडि बढाएको छ ।
जेनजी आन्दोलनका क्रममा कार्यालयको सेवा अवरुद्ध भई समयमै सेवा लिन वा दिन नसकी जरिवानामा पर्ने अवस्थामा उक्त सेवा प्राप्त गर्दा लाग्ने जरिवाना छुट गरिने प्रक्रिया अघि बढाएको छ ।
जेनजी आन्दोलनमा प्रदेश भित्र २१ करोड ६७ लाख ५५ हजार मूल्य बराबरको सरकारी सवारी साधन चार पाङ्ग्रे ५३ वटा र दुई पाङ्ग्रे १४२ वटा गरी कुल १९५ सवारी क्षति भएको छ । मन्त्रालय अन्तर्गत रहेका १२ वटा यातायात व्यवस्था कार्यालयहरु मध्ये २ वटा पूर्ण रुपमा र २ वटा आंशिक क्षति भएको मन्त्रालयले बताएको छ । पुर्ननिर्माणका कार्य पनि अघि बढिसकेको छ ।
आज बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले पत्रकार सम्मेलन गरेर यातायात व्यवस्था कार्यलयहरुको गुणस्तर बढाउनका लागि काम भइरहेको बताए । बागमती प्रदेशको यातायात मन्त्रालय अन्तगतका कार्यालयमा रहेका ट्रायल सेन्टर र स्वास्थ्य जाँच केन्द्र र ड्राइभिङ इन्चिच्युटहरुलाई व्यवस्थित गर्न सम्पूर्ण यातायात क्षेत्रलाई पूर्ण सुधार अगाडि बढेको मन्त्री थापाले बताए ।