१० बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्न बंगलादेशको होवलदार युनुस कम्पनी नेपालमा, सुरु गर्यो काम
लोन पोर्टफोलियो र सम्पत्ति भोलुम ठूलो भएका आधारमा परीक्षणका लागि १० बैंक छानिएका हुन् । कम्पनीले पहिलो चरणमा बैंकहरूको अफसाइट र दोस्रो चरणमा अनसाइट रिभ्यू गर्ने छ ।
काठमाडौं । ठूला वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणको काम सुरु भएको छ । बंगलादेशको चार्टर्ड एकाउन्टेन्ट्स कम्पनी होवलदार युनुस एण्ड कम्पनीले १० वटा वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षणको काम सुरु गरेको हो ।
सो कम्पनीले नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, ग्लोबल आइएमई, एनएमबि र राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणको काम सुरु गरेको हो ।
राष्ट्र बैंकले टेण्डरमार्फत गत साउन ७ गते कम्पनी छनोट गरेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को ऋण सर्तअनुसार राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको ऋणको परीक्षणका लागि होवलदार युनुस एण्ड कम्पनीसँग ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा सम्झौता गरिसकेको छ ।
लोन पोर्टफोलियो र सम्पत्ति भोलुम ठूलो भएका आधारमा परीक्षणका लागि १० बैंक छानिएका हुन् । कम्पनीले पहिलो चरणमा बैंकहरूको अफसाइट र दोस्रो चरणमा अनसाइट रिभ्यू गर्ने छ । बंग्लादेशी कम्पनीले ५ महिनाभित्र बैंकहरूको पोर्टफोलियो रिभ्यू गरिसक्नुपर्नेछ । होवलदार युनुस एण्ड कम्पनीसँग यसअघि राष्ट्र बैंकको आन्तरिक लेखा परीक्षण गरेको अनुभव छ।