एक महिनादेखि बन्द भोटेकोशी हाइड्रो सञ्चालनको बाटो खुल्यो, जुट्यो यस्तो सहमति

काठमाडौं । एक महिनादेखि बन्द भोटेकोशी जलविद्युत आयोजना सञ्चालनमा आउने भएको छ । जेनजीका नाममा १० प्रतिशत निःशुल्क सेयर माग्दै आयोजना बन्द भएकामा आइतबार आयोजना र जेनजी समूहबीच सहमती भएसँगै आयोजना तत्काल सञ्चालन हुने भएको हो ।

आइतबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको समन्वयमा २ पक्षबीच सहमती भएको हो । आयोजना स्थानीयलाई १० प्रतिशत सेयर जारी गर्न र जेनजीहरू निःशुल्कको सट्टा पैसा तिरेर सेयर किन्न तयार भएपछि आयोजना सञ्चालन हुने भएको छ ।

आयोजनाले १० प्रतिशत सेयर जारी गर्ने र स्थानीयले पैसा तिरेरै किन्ने सहमति भएको छ । पैसा नहुनेका लागि ऋणको प्रबन्ध गरिदिने विषयमा समेत सहमती जुटेको छ । 

जेनजीका नाममा सेयर मागेर ऊर्जा उद्यमीलाई दुःख दिइएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारीले गत बुधबार साँझ गृहमन्त्री अर्याललाई भेटेर सुरक्षा माग गर्दै अराजक गतिविधि गर्नेलाई कारबाही गर्न माग गरेका थिए । यसपछि, गृहमन्त्री अर्यालले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए ।

जेनजीका नाममा एक महिनादेखि आयोजना बन्द हुँदा भोटेकोशीले ठूलो घाटा व्यहोरेको छ । गत असोज २ गते स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधि र आन्दोलनकारीको सहभागितामा विवाद समाधानको छलफल भए पनि झडप र तोडफोडपछि प्रारम्भिक सहमति भए पनि कार्यान्वयन हुन सकेको थिएन ।

भोटेकोशी जलविद्युत् आयोजना नेपालकै पहिलो प्रत्यक्ष वैदेशिक लगानीमार्फत प्रवद्र्धित ४५ मेगावाट क्षमताको आयोजना हो।

अमेरिकी कम्पनी पान्डा इनर्जीले सुरु गरेको यो आयोजना सन् २००१ मा व्यावसायिक उत्पादनमा आएको हो। हाल ९५ प्रतिशत स्वामित्व नेपाली लगानीकर्ताको र बाँकी ५ प्रतिशत अमेरिकी कम्पनीको छ ।