सबै डिजिटल कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणालीबाट गर्ने तयारी

अहिले नेपाल पे, फोन पे, एससिटी जस्ता आठ कम्पनीले भुक्तानी सेवा प्रदायकको रूपमा काम गरिरहेका छन् ।

काठमाडौं । सबै डिजिटल कारोबारको अन्तिम राफसाफ (सेटलमेन्ट) राष्ट्र बैंकको प्रणालीबाट गरिने भएको छ ।

राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच सम्बन्धि सन्दर्भ प्रतिवेदन सार्वजनिक गर्दै साझेदारहरूसँग सल्लाह सुझाव मागेको छ ।

प्रतिवेदनमा प्राप्त सल्लाह सुझावअनुसार आवश्यक संशोधन भएपछि कार्यान्वयनमा आउनेछ । अहिले नेपाल पे, फोन पे, एससिटी जस्ता आठ कम्पनीले भुक्तानी सेवा प्रदायकको रूपमा काम गरिरहेका छन् । अर्थात् मुलुकमा आठ कम्पनीको प्रणाली प्रयोग गरेर भइरहेको कारोबार वाणिज्य बैंकमार्फत् राफसाफ हुँदै आएको छ ।

अब पनि कारोबारको लागि ती आठ वटै कम्पनीको प्रणालीको प्रयोग हुनेछ। तर, यस्तो कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणाली रियल टाइम ग्रस सेटलमेन्टबाट हुने छ ।

रियल टाइम ग्रस सेटलमेन्टमार्फत् अन्तिम राफसाफ हुनुअघि यस्ता कारोबार नेशनल पेमेन्ट स्विच हुँदै राष्ट्र बैंकको प्रणालीमा आउनेछ । हाल नेशनल पेमेन्ट स्विचको सञ्चालन नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले गरिरहेको छ । अहिले २० लाखभन्दा माथिको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली मार्फत् नै हुनुपर्ने व्यवस्था छ । यो प्रणालीबाट न्यूनतम दुई लाखसम्मको कारोबार पनि गर्न सकिने व्यवस्था छ ।

२० लाखभन्दा कम रकमको कारोबारको लागि भने अन्य प्रणालीको समेत प्रयोग हुने गरेका छन् । कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणालीबाट हुने व्यवस्थाले मुलुकभित्र हुने कारोबारको स्पष्ट तथ्यांक आउने बताइएको छ ।

त्यस्तै, प्रणालीमा गर्न लागिएको यो विकासले भुक्तानी सेवा प्रदायकहरूको प्रणालीबीच अन्तरआबद्धता समेत कायम हुनेछ। अर्थात् यी जुन सुकै प्रणालीको प्रयोग गरेर जुनसुकै प्रणालीमा भुक्तानी वा कारोबार गर्न सकिनेछ ।