२५०३ मा अडियो नेप्से, ६ अर्ब ७० करोडको कारोबार

काठमाडौं । सेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५०३.३५ अंकमा रोकिएको छ । तिब्र गिरावटमा रहेको नेप्से आइतबार ३.०५ प्रतिशत (७८.८३ अंक) ले घटेर कारोबार रोकिएको हो ।

नेप्से मध्यान्हमा २४९३.१६ अंकसम्म घटेको थियो । त्यसो त प्रिआपेपन सेसनमा झिनो अंकले बढेको नेप्से नियमित कारोबबारमा भने निरन्तर घटेको थियो । नेपाल राष्ट्र बैंकले सेयर धितोमा एकल ग्राहक कर्जाअन्तर्गत २५ करोड रुपैयाँको सीमा खारेज गरेसँगै गत विहीबार सुरुमै ४ प्रतिशत बढेर सर्किट लागि कारोबार रोकिएको थियो । तर, २० मिनेटपछि खुलेको बजार भने दिनभरको कारोबारमा २२.५९ अंकको मात्रै बृद्धि देखिएको थियो ।

गत भदौ २३ र २४ गते जेनजी विद्रोहअघि नै बजारमा उच्च गिरावट देखिएको थियो । अर्थ मन्त्रालय र केन्द्रीय बैंकले सेयर बजार सुधारका लागि प्रयास गरेपनि नेप्सेको गिरावट थामिएको छैन । जेनजी विद्रोहका दिन (भदौ २३ गते) २६७२.२५ विन्दुमा रहेको नेप्से आइतबार २५०३ मा खुम्चिसकेको छ ।

कारोबार रकम भने बढेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भयो ।

९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ४.७९ प्रतिशत घट्यो । बैंकिङ २.३०, विकास बैंक २.९३, फाइनान्स ३.६७, हाइड्रोपावर ३.७९, लगानी ३.१३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.९४, माइक्रोफाइनान्स २.८८, निर्जीवन बीमा २.३२ र व्यापार २.८५ प्रतिशत घटे ।

नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्या माइ हाइड्रोपावरको ४.९०, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८९ प्रतिशत बढ्यो ।

बुटवल पावरको मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको ९.१५, राधि विद्युतको ८.५०, सीईडीबी होल्डिङ्सको ८.४५ तथा विन्ध्यबासिनी हाइड्रोपावरको ८.२७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङस् अगाडि रहे ।