निर्यात अनुदान खारेज भएपछि चेम्बरका पदाधिकारीले भेटे उद्योगमन्त्री, बन्द नगर्न आग्रह

जेनजी आन्दोलनको मर्म अनुसार युवा उद्यमीहरूलाई छिटो र सजिलो कर्जाको पहुँच दिन र सीपमा आधारित व्यवसायलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा चेम्बरले जोड छ ।

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासमक्ष सिंहदरबारमा आज भेटवार्ता गर्दै निर्यातमा दिइँदै आएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको हो ।

आन्तरिक उत्पादनहरूको निर्यात क्षमता प्रतिस्पर्धी बन्न नसकेको, उत्पादन लागत उच्च भएको बेलामा सरकारको पछिल्लो निर्णयले निर्यात निरुत्साहित हुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न चेम्बरले उद्योगमन्त्री सिन्हासमक्ष आग्रह समेत गरेको छ । वर्तमान परिस्थितिमा औद्योगिक तथा व्यावसायिक सुरक्षाको प्रत्याभूतिका साथै लगानीमैत्री वातावरण निर्माण गर्न चेम्बरले आग्रह गरेको हो ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्र सँग साझेदारी गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने आजको आवश्यकक्ता रहेको छ ।’

आन्दोलनबाट गम्भीर रूपमा प्रभावित उद्योग र व्यवसायलाई कर्जाको पुनर्तालिकीकरण, सहुलियत दरमा कर्जा उपलब्धता एवं पुनर्निर्माणको क्रममा उद्यमी, व्यवसायीले आयात गर्ने सामानमा ५० प्रतिशत भन्सार छुट र अन्तःशुल्क छुटको व्यवस्था तथा द्रुत गतिमा बीमा दाबी फर्स्यौट गर्ने नीतिगत व्यवस्थाहरूको चेम्बरले स्वागत गरेको छ ।

यस्तै मुल्याङकनको आधार कारोबार मूल्य हुनुपर्ने र सन्दर्भ पुस्तिका हटाइनुपर्ने चेम्बरले लामो समयदेखि उठाउँदै आएको मागलाई हाल सम्बोधन गरिएको र विराटनगर भन्सार कार्यालयबाट अनलाइन मुल्याङकन प्रणालीको सुरुवात गरिएकोमा चेम्बरले स्वागत गरेको छ । चेम्बरले ऐन कानुनमा स्पष्टताको अभावले दवावमुलक ढङ्गबाट कर उठाउने प्रवृत्तिको अन्त्य गर्न सरकार समक्ष आग्रह गरेको छ ।

जेनजी आन्दोलनको मर्म अनुसार युवा उद्यमीहरूलाई छिटो र सजिलो कर्जाको पहुँच दिन र सीपमा आधारित व्यवसायलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा चेम्बरले जोड दिएको छ । यस्तै व्यवसाय दर्ता, कर तथा लाइसेन्स सम्बन्धी प्रक्रियाहरूलाई पारदर्शी, डिजिटल मैत्री र सरल बनाउन चेम्बरले सुझाव दिएको छ ।

मुलुकमा ५० प्रतिशत भन्दा बढी युवा जनशक्ति रहेको भन्दै चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरूलाई रोजगारीको मूल प्रवाहमा ल्याएर आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नुपर्ने बताए । चेम्बर पदाधिकारीहरुसंगको भेटवार्तामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सिन्हाले निजी क्षेत्रमा सुरक्षाको प्रत्याभूति सहित लगानी मैत्री वातावरण सिर्जना गरेर अर्थतन्त्रलाई निकास दिन आफूहरु प्रयासरत रहेको बताए ।