बाढीका कारण सडक र पुलमा मात्रै करिब ८ अर्बको क्षति, पुनर्निर्माणका लागि साढे १० अर्ब आवश्यक
मेची राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्गलगायत ठूला तथा साना राजमार्ग गरी हालसम्म ९ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध छन्
काठमाडौं । गत असोज १७ देखि १९ गतेसम्मको अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।
सडक विभागको प्रारम्भिक विवरणअनुसार सडकतर्फ ७ अर्ब र पुलतर्फ ९१ करोड रुपैयाँको क्षति पुगेको हो ।
दुई दिनको अविरल बर्षाका कारण बीपी राजमार्गसहित मुख्य राजमार्ग अवरुद्ध बनेका थिए । देशभरका मुख्य र रणनीतिक सडक तथा राजमार्ग अवरुद्ध हुँदा आम जनजीवन प्रभावित बनेको थियो ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार सडक र पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । मेची राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्गलगायत ठूला तथा साना राजमार्ग गरी हालसम्म ९ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध छन् ।