सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत तर्फको सेयर धितो कर्जाको २५ करोडको सीमा हटाएको छ । बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै बैंकले यसअघि रहँदै आएको सेयर धितो कर्जा हटाएको हो ।
यसअघि एकल ग्राहक कर्जा सीमा कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम २५ करोड रुपैयाँ कायम गरिएको थियो ।
तर, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि मात्र यस्तो सीमा लागू हुने छैन ।
यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह र नवीकरण गर्नु पर्ने थियो ।
तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था थियो। राष्ट्र बैंकले यी सबै सीमा खारेज गरेको हो ।
नेपाल राष्ट्र बैंकको चालु वर्ष २०८२र८३ को मौद्रिक नीतिले व्यक्तिगत तर्फको सेयर धितो कर्जाको सीमा १० करोड रुपैयाँले बढाउँदै २५ करोड रुपैयाँ पुराएको थियो । संस्थागत तर्फको सेयर धितो कर्जाको सीमा भने पहिला नै हटाएको केन्द्रीय बैंकले हाल आएर व्यक्तिगततर्फको सीमा पनि हटाएको हो ।