सिटि होटलको ८० प्रतिशत हकप्रदमा आवेदन दिने म्याद थप
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।
काठमाडौं । सिटि होटलले भदौ २३ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थपेको छ । कम्पनीको ८० प्रतिशत हकप्रद सेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।
साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, ‘मेरो सेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। हकप्रद सेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ।