एमसीएले ३१५ किमि प्रसारण लाइनका सबै ठेक्का लगायो
अन्तिम पटक ११७ किमि खण्डको निर्माण सम्झौता गरिएको हो । सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको छ । कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा यसलाई महत्वपूर्ण मानिएको छ ।
काठमाडौँ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनका सबै खण्डको ठेक्का लगाउने काम सम्पन्न गरेको छ।
अन्तिम पटक ११७ किमि खण्डको निर्माण सम्झौता गरिएको हो । सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको छ । कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा यसलाई महत्वपूर्ण मानिएको छ ।
आशिश–बोज्लर जेभीले काठमाडौँ जिल्लामा निर्माणाधीन लप्सिफेदी सबस्टेशनबाट नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेशन हुँदै मकवानपुर जिल्लामा निर्माणाधीन नयाँ हेटौँडा सबस्टेशनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्ने भएको छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसिए–नेपालले प्रदान गरेको उक्त ठेक्का करिब ७६६.५० लाख अमेरिकी डलरको रहेको छ । यस सम्झौताअन्तर्गत ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायतका काम गरिनेछ ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र आशिश–बोज्लर जेभीका प्रतिनिधि निर्माण गौलीले शुक्रबार हस्ताक्षर गरे । कार्यक्रममा एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले यो हस्ताक्षरले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिको प्रतिनिधित्व गर्ने बताए ।
एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा एमसिए–नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । एमसिए–नेपालले नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेशनदेखि तनहुँ जिल्लामा निर्माणाधीन नयाँ दमौली सबस्टेशनसम्मको, उक्त सबस्टेशनदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन नयाँ बुटवल सबस्टेशनसम्मको र त्यहाँदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता यस अघि नै गरिसकेको छ ।
यसका अतिरिक्त रातमाटे सबस्टेशन, नयाँ दमौली सबस्टेशन र नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ ।