माओवादी नेता-कार्यकर्ताको सम्पत्ति छानविन गरिने, नेपोटिजमबारे कार्यविधि बनाउने
माओवादी अध्यक्षद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा
जेनजीलाई पार्टीका सबै समितिमा अधिकतम सहभागी गर्ने, युवाहरूलाई प्रथामिकता दिने, आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको सातौं पूर्ण बैठकले पार्टी भित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी भित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय समिति दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने, पदाधिकारी आयोजक समितिको सचिवालयमा रूपान्तरित हुने र महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले नेपोटिजमबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने र संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउने निर्णय गरेको छ ।
जेनजीलाई पार्टीका सबै समितिमा अधिकतम सहभागी गर्ने, युवाहरूलाई प्रथामिकता दिने, आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष दाहालको प्रस्ताव पारित गर्दै वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई त्यसैमा समेट्ने र विचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने निर्णय गरेको छ ।
यसअघि अध्यक्ष दाहालले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका थिए । पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष दाहालले अब पार्टी पुरानै पद्दतिले नचल्ने भएकाले नयाँ कार्यविधि र नयाँ ढंगबाट अघि बढ्ने बताएका थिए ।