सेबोन र नेप्से कर्मचारीको आन्दोलन क्रमसः तेस्रो र दोस्रो दिन जारी, कामकाज ठप्प

नेप्सेका कर्मचारीले नाफाबाट ५ प्रतिशत बोनस सेयर पाउँदै आएका थिए । चार वर्षअघि अर्थ मन्त्रालयले १ प्रतिशत मात्रै बोनस दिनु भनेर निर्देशन दियो ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारी आज तेस्रो दिन पनि आन्दोलनमा रहेका छन् । मंगलबारदेखी आन्दोलनमा रहेका कर्मचारीले बिहीबार पनि आन्दोलन जारी राखेका हुन ।

सेबोनका कर्मचारीले अर्थमन्त्रालयले गरको निर्णय बिरुद्ध कर्मचारीले आन्दोलन गरेका छन् । अर्थ मन्त्रालयले असोज २ गते पठाएको पत्रका कारण धितोपत्र बोर्डका सबै कर्मचारी एक साथ आन्दोलित भएका छन्। आन्दोलित कर्मचारीले मंगलबार देखी बोर्डको काम कारबाही समेत प्रभावित बनाएका छन् ।

आन्दोलनका रहेका कर्मचारीले बोर्डको स्वायत्तता कायम गर, कर्मचारीले कानुन सम्मत खाइपाई आएको सेवा सुविधा कटौती खारेज गर, गैर कानूनी आदेश खारेज गर, कर्मचारीलाई मनोवैज्ञानिक त्रास बन्द गर, भय रहित तरिकाले कम गर्ने वातावरण सुनिश्चितता गर जस्ता माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

भदौ ३१ गतेको राजस्व सचिव स्तरिय निर्णयपछि कर्मचारी खाइपाइ आएको सेवा सुविधा कटौती हुने, यसअघिका कर्मचारीले खाइपाइ आएको सुविधा पनि फिर्ता गर्नुपर्ने भएपछि आन्दोलनमा आउन बाध्य भएको एक कर्मचारीले बताए ।

आन्दोलनमा उत्रिएका कर्मचारीले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, सबै कार्यकारी निर्देशक लगायत उच्च पदस्थ कर्मचारीको सवारीसाधन नियन्त्रणमा लिएका छन् । साथै उनीहरुले समयमा नै समस्याको समाधान गर्न नेतृत्वलाई आग्रह गरेका छन् । अन्यथा पदबाट राजीनामा दिन माग गर्दै आज नाराबाजी गरेका छन् । आन्दोलनमा रहेका कर्मचारीले मन्त्रालयले पठाएको पत्र खारेज हुनुपर्ने समेत माग गरेका छन् ।


उता, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । नेप्से सिध्याउन लागेको भन्दै अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध कर्मचारीहरु मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई कार्यालयमा प्रवेश गर्न नदी आन्दोलन जारी राखेका छन् । मंगलबार कर्मचारीलेहरुले अध्यक्ष र सीईओलाई कार्यालयमा थुनेर राखेपछि पटक–पटक प्रहरी नेप्सेमा पुगेको थियो । प्रहरी पुग्दा विवाद मिलिसक्यो भनेर फिर्ता पठाएका थिए । मध्ये रातिसम्म पनि कर्मचारीले अध्यक्ष र सीईओलाई बन्दी बनाएर राखेपछि प्रहरी वृत सिंहदरबारको टोली करिब साढे १० बजे नेप्सेमा पुगेर करिब १२ बजे कर्मचारीको रोहबरमा सबैलाई घर पठाइएको स्रोतको दाबी छ ।

नेप्सेका कर्मचारीले नाफाबाट ५ प्रतिशत बोनस सेयर पाउँदै आएका थिए । चार वर्षअघि अर्थ मन्त्रालयले १ प्रतिशत मात्रै बोनस दिनु भनेर निर्देशन दियो । अर्थको निर्देशनपछि नेप्से सञ्चालक समितिले कर्मचारीलाई १ प्रतिशत मात्रै बोनस दिने भयो । सञ्चालक समितिको उक्त निर्णयको विरोध गर्दै नेप्सेका कर्मचारी युनियन श्रम अदालत गयो ।

श्रम अदालतले ५ प्रतिशत बोनस सेयर दिनु भन्दै गत असारमा आदेश दियो । कर्मचारी अदालतको आदेशअनुसार ५ प्रतिशत बोनस सेयर पाउनुपर्ने माग गरिरहेका थिए । तर, सञ्चालक समितिले श्रम अदालतको आदेशले मात्रै नपुग्ने मन्त्रालयको पनि निर्देशन चाहिने अडान लियो ।

बोनस नियमावलीको ६ (३) मा अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्ने भन्ने व्यवस्था छ । व्यवस्थापन त्यही नियमावली देखाएर अर्थको सहमति बिना निर्णय गर्न नसकिने अडानमा रहेको छ । यता कर्मचारीहरु भने अदालतभन्दा ठूलो मन्त्रालय होइन । अदालतको आदेशअनुसारको बोनस चाहिने अडानमा छन् ।