पूँजीबजारको समस्या अध्ययन गर्न गठन भएको कार्यदलले बुझायो प्रतिवेदन
प्रतिवेदनमा के–कस्ता सुझाव र कार्ययोजना सिफारिस गरिएको छ भन्ने बारे केही खुलाइएको छैन ।
काठमाडौं । पूँजी बजारको समस्या अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ। अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको ४ सदस्यीय कार्यदलले आज बिहान प्रतिवेदन बुझाएको हो ।
गत शुक्रवार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डको कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन गरेका थिए । जेनजी आन्दोलनपश्चात् एक हप्ता भन्दा बढी समय बन्द भएर गत बिहीबार खुलेको सेयर बजार १६० अंकले घटेपछि अर्थमन्त्री खनालले तत्कालै सेयर बजारमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरेका थिए ।
पूँजी बजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नु पर्ने प्रणालीगत र प्रक्रियागत सुधारका लागि ठोस कार्यान्वयन कार्य योजना प्रस्तुत गर्ने गरी कार्यदल गठन गरिएको थियो । कार्यदललाई ५ दिनभित्र सुझाव तथा कार्यान्वयन कार्य योजना पेस गर्नुपर्ने कार्यादेश रहेको थियो । सोही कारण आजै कार्यदलले प्रतिवेदन बुझाएको हो । तर, प्रतिवेदनमा के–कस्ता सुझाव र कार्ययोजना सिफारिस गरिएको छ भन्ने बारे केही खुलाइएको छैन ।