सेबोन र नेप्सेमा कर्मचारी आन्दोलनको असर, नेप्से ३३ अंक घट्दा कारोबार ४ अर्बमै सीमित
जेनजी आन्दोलनपछि बिहीबार बजार ६ प्रतिशतले घटेकोमा सरकारी पक्षबाट आएका विभिन्न सकारात्मक निर्णयहरुका कारण आइतबार र मंगलबार बजार सूचक नेप्से उच्च अंकले बढेको थियो । तर, मंगलबादेखी नेप्से र सेबोनमा भएको कर्मचारी आन्दोलनको असर बुधबार बजर सूचकमा परेको छ ।
काठमाडौं । धितोपत्र बजारको नियामक र कारोबार स्थल दुबै ठाउँको आन्दोलनको असर सेयर बजारमा देखिएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबारदेखी कर्मचारीहरुले आन्खोलन गरिरहेका छन् ।
जेनजी आन्दोलनपछि बिहीबार बजार ६ प्रतिशतले घटेकोमा सरकारी पक्षबाट आएका विभिन्न सकारात्मक निर्णयहरुका कारण आइतबार र मंगलबार बजार सूचक नेप्से उच्च अंकले बढेको थियो । तर, मंगलबादेखी नेप्से र सेबोनमा भएको कर्मचारी आन्दोलनको असर बुधबार बजार सूचकमा परेको छ । यद्यपी यसैलाई मात्र बजार घट्नुको कारण मान्नु भने सकिँदैन । लगानीकर्ताहरुले दशैँ खर्च जोहो गर्न सेयर बिक्री गर्दा पनि बजार प्रभावित भएको हुनसक्छ । आजसम्म सेयर बिक्री गरेका लगानीकर्ताहरु दशैँ अघि पैसा प्राप्त गर्ने भएकोले बुधबार लगानीकर्ताहरु खर्च जोहो गर्नतर्फ लागेका हुन् ।
बुधबार नेप्से सूचक २७.८९ अंक घटेर २६५४.३५ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ४.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेकस १.७६ अंक घटेको छ ।
बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ५ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा बुधबार ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँबराबरको ९४ लाख ८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
बुधबार तीन कम्पनी माथिल्लो मैलुङ्ग खोल जलविद्युत, सिटि होटल र हिम स्टार उर्जा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्डको इकाईमूल्य र भिजन लुम्बिनी उर्जा कम्पनीको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ५.३८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा बुधबार युनियन हाइड्रोपावर शीर्ष स्थानमा छ। सो कम्पनीको २२ करोड १३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम १३ करोड नाघेको छ । १३ समूहमध्ये बुधबार २ समूहको सूचक बढेको छ भने ११ समूह सूचक घटेको छ ।