दशैंमा काठमाडौं–नारायणगढ साझा बस चल्ने, भाडा ३०० मात्र
कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ । त्यसपछि क्रमश: ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।
काठमाडौं । साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।
दशैंको बेला यात्रुहरुको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो ।
काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ मात्रै तोकिएको छ । यो भाडा अन्य सवारी साधनको तुलनामा झण्डै आधा सस्तो हो । साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।
कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ । त्यसपछि क्रमश: ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् । नारायणगढ पुगेपछि ती बसहरु यात्रुहरु लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् । यात्रा गरेवाफत यात्रुहरुले एकतर्फी भाडा ३०० रुपैयाँ बुझाई अनिवार्य रुपमा साझा यातायातको टिकट लिनुपर्ने छ ।