मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, यी हुन् वैकल्पिक सडक
प्रशासनले मंगलबार साँझ एक सूचना जारी गर्दै यो सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित संघसंस्था तथा यात्रुहरूलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।
काठमाडौं । तुइनखोलामा खसेको भयंकर सुक्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा बन्द भएपछि चितवन प्रशासनले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
वैकल्पिक मार्गको रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो ।
चितवनबाट काठमाडौं आउजाउ गर्नका लागि (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ ।
यसैगरी धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ । यसैगरी मकवापनुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाडौं आउन सकिने छ ।
यसैगरी हेटौंडा-काठमाडौं आउजाउ (ठूला सवारीसाधन मात्र) गर्नका लागि कान्तिलोकपथ प्रयोग गर्न सकिने छ ।
यसैगरी चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै सवारीसाधन बुटवल हुँदै पोखरा जान सकिने प्रशासनले जनाएको छ । यसैगरी चितवनबाट कालीगण्डकी करिडोरको बाटो (सानो गाडी मात्रै) गैंडाकोट हुँदै पाल्पा रामपुर, भिमाद हुँदै तनहुँ निस्कन सकिनेछ ।