विद्युत प्राधिकरणका कार्यकारी सिलवालले भने, ‘राम्रो काम गरेँ भने फोटो टाँस्नुस, नत्र पर्दैन’
राजनीतिक नियुक्तिको अर्थ बुझेको छु । यसको अवधि हुँदैन । लोकसेवा दिएर ४ वर्ष बस्छु भनेर आएको होइन । जति दिन बस्छु, काम गर्छु । काम गर्न नसकेको दिन साथी हो, मैले सकिनँ भनेर छोडेर हिँड्छु ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्दशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । सिलवालले मंगलबार रत्नपार्कस्थित प्राधिकरणका मुख्यालमा पुगेर पदभा र ग्रहण गरेका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको थियो ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै सिलवालले राजनीतिक नियुक्तको अर्थ आफूले बुझेको र अर्को सरकार आएको भोलिपल्टै छोड्न तयार रहेको बताए ।
‘प्राधिकरणमा ८ वर्ष कार्यकारी निर्देशक रहनुभएका कुलमान घिसिङ मन्त्री हुनुहुन्छ । त्यसैले नेपाल सरकारबाट पनि पर्याप्त सहयोग हुन्छ । यस्तो सहज परिस्थिति सायद भविष्यमा नहोला । काम गर्नका लागि एकदम सहज छ । यो परिस्थितिको फाइदा उठाउनुपर्छ’ सिलवालले भने, ‘म सधैँ बस्छु भनेर आएको होइन । राजनीतिक नियुक्तिको अर्थ बुझेको छु । यसको अवधि हुँदैन । लोकसेवा दिएर ४ वर्ष बस्छु भनेर आएको होइन । जति दिन बस्छु, काम गर्छु । काम गर्न नसकेको दिन साथी हो, मैले सकिनँ भनेर छोडेर हिँड्छु । तर, त्यो अवस्था आउँदैन । यदि अर्को सरकार आयो भने निरन्तरता दिउँ कि छोडौं भन्ने सोध्छु र भोलिपल्टै म छोड्छु । म फोटो टाँस्न आएको होइन । आफैँ मूल्यांकन गर्नुस् । बस्दा राम्रो काम गरेँ भने फोटो टास्नुस्, नत्र टाँस्नु पर्दैन ।’