नेप्से २६८२ विन्दुमा, कारोबार रकम सवा ५ अर्बमा सीमित, ८ कम्पनीमा सकारात्मक सर्किट
मंगलबार सबै समूह सूचक बढेको छ । जसमध्ये निर्जीवन बीमा समूहको सूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ । बिहीबार र आइतबार निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आएको थियो ।
काठमाडौं । अन्ततः सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार पनि उकालो लागेको छ । जेनजी आन्दोलनपछि गत विहीबार १६० अंक अर्थात् ६ प्रतिशतले घटेको बजार सूचक आइतबार र मंगलबार गरि पुरानो खाडल पुरेर अघि बढेको छ । आइतबार १११.७० अंक बढेको नेप्से मंगलबार ५८.६३ प्रतिशत बढेर २६८२.२५ अंकमा पुगेको छ । साउन दोस्रो साता ३००२ विन्दुमा रहेको नेप्से निरन्तर घटिरहेकोमा गत विहीबार २५११.९० अंकमा झरेको थियो ।
बजार तीब्र गिरावट देखिनासाथ अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले सेयर बजार सुधारका विषयमा सुझाव दिन ४ सदस्यीय समिति बनाएर ५ दिनको समय दिएका थिए । त्यसको प्रभाव आइतबारको बजारमा परेको थियो । आइतबार फेरी नेपाल धितोपत्र बोर्डले अन्तिम कारोबारको १५ मिनेटको औसतलाई मूल्य बनाएर नेप्से सूचना गणना गर्ने विधि स्थगित गर्दै नियमित करोबारबाटै गणना विधि कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । आजको सूचक नियमित कारोबारबाटै तय भएको हो । यसको प्रभाव पनि बजारमा सकारात्मक परेको छ ।
त्यसैगरि सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्ता संरचनाको पुनर्निर्माण र त्यहाँ कार्यरत कर्मचारी÷मजदुरको निरन्तरता र वेतनको निश्चितताका लागि विभिन्न कदमहरु चाल्ने निर्णय लिएको थियो । त्यसको प्रभाव पनि मंगलबारको बजारमा परेको छ ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ९.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०१ अंक बढेको छ । आज कारोबार रकम भने घटेको छ। आइतबार ९ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
मंगलबार ८ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, एशियन हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । मंगलबार मूल्य घटेका स्टकहरुको गिरावटदर साढे ४ प्रतिशतभन्दा कम छ।
कारोबार रकमका आधारमा मंगलबार नेपाल पुनर्बीमा कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
मंगलबार सबै समूह सूचक बढेको छ । जसमध्ये निर्जीवन बीमा समूहको सूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ । बिहीबार र आइतबार निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आएको थियो । त्यस्तै, मंगलबार जलविद्युत समूह सूचक ३ प्रतिशतभन्द बढी बढेको छ भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य समूहको सूचक २ प्रतिशतभन्दा बढी बढेको छ।