कामना सेवा र यूनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
काठमाडौं । आज कामना सेवा विकास बैंक र यूनिभर्सल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुबै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारणसभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कामना सेवाले असोज २४ गते, शुक्रबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा १९ औँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा बिहान ११ बजे सुरु हुनेछ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
त्यस्तै, यूनिभर्सल पावर कम्पनीले असोज २३ गते, बिहीबार, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा साधारणसभा बोलाएको छ । साधारणसभा बिहान १० बजे शुरु हुनेछ ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी,साधारणसभाले लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।