२ महिनामा काठमाडौंका सार्वजनिक स्थल र ५ महिनाभित्र १० सहरमा फ्रि इन्टरनेट दिने सञ्चारमन्त्रीको घोषणा

काठमाडौं । पदभार ग्रहण गर्न मन्त्रालय पुगेका नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा लेखिएका केहि विषयहरु संसोधन गराएर मात्रै हस्ताक्षर गरेका छन् ।

सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोह सकेर मन्त्री खरेल मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए । सचिव राधिका अर्यालले पहिलो निर्णय हस्ताक्षरका लागि पेश गरेकी थिईन् । तर, मन्त्री खरेलले उक्त फाइलमा केही फरक निर्णय बनाएर पुनः ल्याउन सचिव अर्याललाई आग्रह गरेका थिए ।

मन्त्री खरेलका अनुसार अबको दुई महिनाभित्र काठमाडौं उपत्यकाका सम्पूर्ण सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा दिने निर्णय भएको छ । सामाजिक सञ्जाल बन्द जेनजी आन्दोलनको उद्गम भएको उल्लेख गर्दै उनले जेनजी पुस्तालाई मध्यनजर गर्दै यो निर्णय लिइएको बताए ।

देशभरका सार्वजनिक स्थलहरूमा फ्रि इन्टरनेट एक्सेस दिन सकिने विषयमा विचार गर्दै उनले दूरसञ्चार प्राधिकरणको सहमति लिएर दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सार्वजनिक स्थलहरूमा फ्रि इन्टरनेट उपलब्ध भइसक्ने बाचा गरे ।

यससँगै काठमाडौं बाहेक मंसिरभित्र काठमाडौंका सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट दिने पनि उनले घोषणा गरे । सात ओटा प्रदेशका राजधानी र अन्य महत्त्वपूर्ण सहरमा पनि महत्त्वपूर्ण दश ओटा सहरमा पाँच महिनाभित्र निःशुल्क इन्टरनेट एक्सेस हुने उनको भनाइ छ ।