सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चार मन्त्री डा. तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए । फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका थिए ।

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी-२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् ।  नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहेका सञ्चार मन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् । 

उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए । सो अवसरमा उनले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गरेको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चार मन्त्री डा. तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए । फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका थिए । उनले उक्त पदका लागि आफ्नो दृष्टिकोण तथा योजनाबारे पनि सञ्चार मन्त्री डा. तिमिल्सिनालाई जानकारी गराए । त्यसैगरी, सञ्चार मन्त्री डा. तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा दुवै पक्षबीच आपसी हित र चासोका विषयमा छलफल भएको विज्ञप्ति जनाइएको छ ।

यसैबीच, मन्त्री डा. तिमिल्सिनाले साँझ कतार सरकारद्वारा आइटियु पीपी-२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका लागि आयोजित रात्रिभोजमा सहभागिता जनाएका थिए ।  अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलन दूरसञ्चार तथा सूचना प्रविधिको विश्वव्यापी नीति, नियमन र सहकार्यका विषयमा छलफल हुने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो ।