चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा

चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने कार्यमा स्थानीयको अवरोध देखिएको थियो ।

काठमाडाैं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ । उक्त राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु सहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सञ्चालनमा ल्याइएको हो । 

अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा समेत छलफल गरिएको थियो ।

चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने कार्यमा स्थानीयको अवरोध देखिएको थियो । मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवाहरुलाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजिकरण गरिदीन आग्रह गरेका थिए । सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौंको संख्यामा रहेका दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन् ।