पीडित व्यवसायीलाई सरकारी राहतः आयातमा ५०% भन्सार छुट, बीमा दाबीको आधा अग्रीम भुक्तानी र सहुलियतपूर्ण कर्जा सुविधा
र्मचारी तथा मजदुरको जागिर नजाओस् भनेर कर्जा लिएर भुक्तानी गर्न सक्नेहरूलाई सहुलियतपूर्ण कर्जा र भुक्तानी गर्न नसक्नेहरूलाई राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट भुक्तानी गर्ने प्रबन्ध
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका उद्योग तथा व्यवसाय पुनर्निर्माणका लागि आयात गरिने सामाग्रीमा ५० प्रतिशत भन्सार छुट दिने घोषणा गरेको छ ।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक÷व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सुचारु गर्न सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणले विभिन्न किसिमका राहतका सुविधाहरू ल्याउने बताए ।
राहत सुविधाहरुको पहिलो चरणमा सरकारीस्तरबाट ध्वस्त भएका सम्पत्तिको पुनर्निर्माणका लागि आवश्यक पर्ने वस्तुहरू आयात गर्दा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको अर्थमन्त्री खनालले जानकारी दिए ।
बीमाबाट अग्रिमरुपमा क्षतिको ५० प्रतिशतसम्म अग्रिम दाबी गर्ने व्यवस्था गरिएको भन्दै अर्थमन्त्री खनालले प्रभावित उद्योग तथा व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्ने व्यवस्था गरिएको बताए । कर्मचारी तथा मजदुरको जागिर नजाओस् भनेर कर्जा लिएर भुक्तानी गर्न सक्नेहरूलाई सहुलियतपूर्ण कर्जा र भुक्तानी गर्न नसक्नेहरूलाई राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट भुक्तानी गर्ने प्रबन्ध गरिने अर्थमन्त्री खनालले जानकारी दिए ।
