३ करोडसम्मका टुक्रे आयोजना रोक्का, बैंक र औद्योगिक प्रतिष्ठानले सीएसआरको रकम पुनर्निर्माण कोषमा राख्न पाउने
बैंक तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठानले सीएसआरको रकम राख्न पाउने र त्यसमा कर कट्टी समेत गर्न सकिने छ । कोष परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण समिति बनाइने छ ।
काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना पनि रोक्का राख्ने निर्णय गरेको छ ।
सरकारको ३ करोडसम्मका खुद्रे आयोजना रोक्ने र ३ करोडमाथिका आयोजना पनि पछि आयोजना बैंकमा समेटेका कार्यक्रम रोक्दा चालु खर्चसहित १ खर्ब २० अर्ब रुपैयाँ बराबर रकम बच्न सक्ने देखिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । खनालकाअनुसार रोक्का राखिएको रकमबाट पहिला काम गरिसकेको तर, निर्माण व्यवसायीको भुक्तानी दिन बाँकी रहेको भए भुक्तानी दिन सकिने गरी निर्णय भएको छ । मन्त्रिपरिषदको यो निर्णयले राष्ट्रिय गौरव र ठूला आयोजनाको काम द्रूत गतिमा अगाडि बढाउन रकम उपयोग गर्न सहज हुने अर्थमन्त्री खनालले जानकारी दिए ।
त्यसैगरि सरकारले पुनर्निर्माण कोष खडा गर्ने निर्णय गरेको छ । कोषमा नेपालभित्र र बाहिरबाट पनि रकम योगदान गर्न सकिने छ । बैंक तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठानले सीएसआरको रकम राख्न पाउने र त्यसमा कर कट्टी समेत गर्न सकिने निर्णय भएको खनालको भनाई छ । कोष परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण समिति बनाइने भएको छ ।
