‘भी’ आकारमा बढ्यो सेयर बजार, नेप्से १११ अंकले बढ्दा निर्जीवन बीमामा भारी गिरावट
अर्थमन्त्रायद्धारा गठित कार्यदल र १५ मिनेटको औसत गणना विधि हटाउने निर्णयलाई स्वागत
सुरुवाती कारोबारका क्रममा बजार उथलपुथल भए पनि साढे ११ बजेपछि उकालो लागेको नेप्से अन्तिम समयसम्म कायम रह्यो । ९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो ।
काठमाडौं । गत विहीबार बजारमा उच्च गिरावट आएपनि आइतबारको कारोबार भने सम्हालिएको छ ।
आइतबार सम्हालिएको मात्र छैन पुरै समय भएर उच्च १११ अंक (४.४४ प्रतिशत) बढेर २६२३.६२ अंकमा बन्द भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि खुलेको सेयर बजार विहीबार १६०.३३ अंकले घटेर २५११.९१ अंकमा रोकिएको थियो । बिहीबार ६ प्रतिशत घटेर एक घण्टामै कारोबार रोकिएको थियो । तर, आइतबार सम्हालिँदै बजारले नयाँ उचाइ लिएको छ । अर्थात् विहीबारको गिरावटलाई आधार मान्ने हो भने अंग्रेजी अक्षर ‘भी’ आकारमा बजार उकालो लागेको छ । आइतबार बजार सूचक मात्रै बढेको छैन, सेयर कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ ।
आजको अंक अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनापछिको हो । भारित औसत मूल्य गणनाअघि नेप्से ११६ अंक बढेको थियो । भोली सोमबार घटस्थापनाका कारण सार्वजनिक विदा छ । पर्सि मंगलबारदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटाइने छ । कम्पनीहरू अन्तिम मूल्यकै आधारमा नेप्से सहित समूहगत सूचक गणना हुनेछ ।
सुरुवाती कारोबारका क्रममा बजार उथलपुथल भए पनि साढे ११ बजेपछि उकालो लागेको नेप्से अन्तिम समयसम्म कायम रह्यो । ९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो ।
निर्जीवन बीमा बाहेकका सबै क्षेत्र (सेक्टर) बढेका छन् । निर्जीवन बीमा ४.०२ प्रतिशत घट्यो । भदौ २४ गते थुप्रै व्यवसायिक प्रतिष्ठान, भवन, निजी घर तथा सवारी साधनमा आगजनी भएपछि निर्जीवन बीमा कम्पनीहरुको दायित्व बढेसँगै यो सेक्टरमा नकारात्मक प्रभाव देखिएको हो ।
व्यापार समूह सबैभन्दा धेरै ८.६६ प्रतिशत बढ्यो । बैंकिङ ४.५२, विकास बैंक ६.०७, फाइनान्स ५.५४, होटल तथा पर्यटन २.३३, हाइड्रोपावर ५.८३, लगानी ७.६८, जीवन बीमा ५.६६, उत्पादन तथा प्रशोधन ४.८५, माइक्रोफाइनान्स ३.६९ तथा अन्य १.५३ प्रतिशत बढे ।
डेढ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत मूल्य बढेका कम्पनीमा शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, अपी पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, हिमस्टार ऊर्जा कम्पनी, माथिल्लो तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रिडी पावर, सिक्लेस हाइड्रोपावर छन् ।
मूल्य धेरै घट्नेमा आज निर्जीवन बीमा कम्पनीहरु अगाडि देखिएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.६४, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.६६, राष्ट्रिय बीमा कम्पनीको ५.५९, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५.०५ प्रतिशत मूल्य घट्यो । त्यस्तै तारागाउँ रिजेन्सीको ४.८७ तथा नेको इन्स्योरेन्सको ४.५७ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
बिहीबार उच्च अंकले बजार घटेपछि शुक्रबार अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएको विसंगति र समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेको थियो । अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा देखिएका प्रणालीगत र प्रक्रियागत चुनौतीहरूको विश्लेषण गरी पाँच दिनभित्र ठोस कार्यान्वयन योजना पेश गर्न भनिएको छ । त्यसका आधारमा सरकारले सेयर बजार सुधारका लागि थप कदम चाल्ने बताइएको छ । त्यति मात्र होइन नेपाल धितोपत्र बोर्डले चैत महिनादेखी लगाइएको अन्तिम कारोबारको १५ मिनेटको औसत व्यवस्था गणना विधिलाई आगामी मंगलबारदेखी लागू हुने गरि हटाएको छ । यसको बजारमा सरकारात्मक प्रभाव परेको मान्न सकिन्छ ।
