सेयर बजारको पहिरोः ‘भी’ आकारमा बजार फर्किन्छ, आत्तिए भन्न सकिन्न धैर्य गरे कमाइन्छ

विज्ञापन
ncell

वित्त नीति र मौद्रिक नीतिमा कुनै परिवर्तन भएको छैन । ब्याजदर र मुद्रास्फिति घटिरहेकै स्थिति छ । वित्तीय बजारमा पर्याप्त तरलता छ । अपवादबाहेक सूचीकृत कम्पनीहरुको वित्तीय स्थिति पनि मजबुत बन्दै गएको देखिन्छ । समग्रमा भन्दा बिहीबारको गिरावट अल्पकालिन डरको प्रतिक्रिया हो ।

काठमाडौं । भदौ २३ गते जेनजी आनदोलनकै दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३४.९९ अंकले घटेको थियो । त्यसै दिनको आन्दोनलपछि असोज १ गतेसम्म सेयर कारोबार बन्द भयो ।

स्थिति सामान्य भएसँगै असोज २ गते सेयर कारोबार त भयो तर, त्यहाँ ‘नेगेटिभ सर्किटको ट्रिपल’ झड्का लाग्यो । अर्थात् कारोबार खुलेको एक घण्टाभित्र ४ प्रतिशत, ५ प्रतिशत, ६ प्रतिशत घटेर बजार बन्द भयो । जसरी जेनजी आन्दोलनले राजनीतिक घट्नाक्रम उथलपुथल बनाइदियो, ठीक त्यही शैलीमा सेयर बजारमा पनि उथलपुथल आयो । कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट आयो जसरी हेर्दाहेर्दै पुराना राजनीतिक दलहरु सत्ताबाट सडकमा झरे ।।

हरेक राजनीतिक घटनाक्रमबाट सेयर बजार प्रभावित हुन्छ । नयाँ सरकार बन्दा, नयाँ अर्थमन्त्री वा गभर्नर आउँदा, नयाँ बजेट वा मौद्रिक नीतिमा सेयर कारोबार प्रभावित हुन्छ । असोज २ गते बिहीबारको सेयर कारोबार जेनजी आन्दोलनको प्रतिविम्ब थियो ।

आन्दोलन सुरु भएको २७ घण्टामा निर्वाचित सरकार ढल्यो । अन्तरिम सरकार बन्यो । फागुन २१ गते निर्वाचन घोषणा भयो । संविधान दिवसकै दिन पारेर किन नहोस, जेनजी आन्दोलनका नेता र सत्ताच्यूत पुराना राजनीतिक दलका नेताहरु एकै ठाउँमा जमघट भयो । यसले राजनीतिक परिवेश सामान्यीकरण भएको आभाष मिल्छ । तर, सेयर बजार सामान्यीकरण भयो कि भन्ने भन्ने हेर्न आइतबारको कारोबार हेर्नुपर्ने हुन्छ ।

बिहीबार बजार खुलेको दुई मिनेटमै नेप्से १०७.०४ अंक अर्थात ४ प्रतिशतले घटेर २५६५.२१ विन्दुमा झर्यो र पहिलो सर्किट ब्रेकर लागेर २० मिनेट कारोबार रोकियो । पुनः खुलेको बजारमा थप १ प्रतिशत गिरावट आयो र दोस्रो नेगेटिभ सर्किट लागेर ४० मिनेटका लागि कारोबार बन्द भयो । त्यसपछि खुलेको बजारमा थप १ प्रतिशत विन्दु अर्थात समग्रमा ६ प्रतिशत घटेर तेस्रो नेगेटिभ सर्किट ब्रेकरसँगै कारोबार बन्द रह्यो । बिहीबार २१७ कम्पनीको सेयर मूल्यमा गिरावट आयो र समग्रमा ६ मिनेट कारोबार हुँदा ७२ करोड ८७ लाख रुपैयाँ मात्र सेयर खरिद विक्री भयो । 

विश्लेषकहरू तीव्र गिरावटको मुख्य कारण राजनीतिक अस्थिरता र लगानीकर्तामा आएको अन्योलको सूचक हो । लगानीका लागि राजनीतिक वातावरण स्थिर हुनुपर्छ । संसद विघटन, सरकार परिवर्तन र आन्दोलनजस्ता घटनाहरूले लगानीकर्तामा डर र अनिश्चितता पैदा गरेको । नयाँ निर्वाचनमार्फत नयाँ प्रतिनिधिसभामा कस्ता राजनीतिक खलहरुको बर्चस्व रहन्छ भन्ने एकीन छैन । बन्दै गरेको राजनीतिक स्थिरता र लगानीकर्ताको मनोबलमा एकाएक धक्का लागेको छ । लगानीकर्ताको आत्मविश्वास गुमेको छ । 

विगतका आन्दोलनहरुमा राजनीतिक परिवर्तन मात्रै हुन्थ्यो । सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा अपवादबाहेक कुनै क्षति हुँदैनथ्यो । तर, जेनजी आन्खोलन विध्वंसकारी देखियो । सार्वजनिक सम्पत्तिसँगै निजी सम्पत्ति र व्यवसायीक घरानाहरुमा छानीछानी आक्रमण भयो । यसले लगानीकर्तामा ठूलो भयको वातावरण मात्रै सिर्जना भएको छैन, यो मुलुकमा निजी लगानीको सुरक्षा कसले र कसरी गर्छ भन्ने प्रश्न उठेको छ । लगानीकर्ताको आत्मविश्वास गुमेको छ । यद्यपी सूचीकृत थोरै कम्पनीहरुमा मात्रै आन्दोलनको प्रत्यक्ष असर देखिएको छ । खासगरि पुनर्बिमा कम्पनी र निर्जीवन कम्पनीमा भौतिक क्षतिको अप्रत्यक्ष असर पर्ने छ । तर, राम्रो पक्ष के छ भने ठूलो क्षति भोगेर पनि भाटभटेनी, आइएमई, चौधरी, गोल्छा गु्रपहरु दृढ संकल्पका साथ फेरी उठ्ने उद्घोष गरेका छन् । यो मुलुक र लगानी वातावरण निर्माणका लागि सकारात्मक पक्ष हो ।

सेयर बजार घटिहरँदा लगानीकर्ता नआत्तिइकन कम्पनीहरुको वित्तीय स्थिति अध्ययन गरेर न्यून ब्याज दर र घट्दो मुद्रास्फितिको फाइदा लिने गरि अघि बढेमा सेयर बजार फेरी फर्किने सम्भावना रहन्छ । वित्त नीति र मौद्रिक नीतिमा कुनै परिवर्तन भएको छैन । ब्याजदर र मुद्रास्फिति घटिरहेकै स्थिति छ । वित्तीय बजारमा पर्याप्त तरलता छ । अपवादबाहेक सूचीकृत कम्पनीहरुको वित्तीय स्थिति पनि मजबुत बन्दै गएको देखिन्छ । समग्रमा भन्दा बिहीबारको गिरावट अल्पकालिन डरको प्रतिक्रिया हो ।

अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएको विसंगति र समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेको छ। अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा देखिएका प्रणालीगत र प्रक्रियागत चुनौतीहरूको विश्लेषण गरी पाँच दिनभित्र ठोस कार्यान्वयन योजना पेश गर्नेछ । त्यसका आधारमा सरकारले सेयर बजार सुधारका लागि थप कदम चाल्ने छ ।

अन्तरिम सरकारले राजनीतिक दिशावोध नदिने भएपनि निर्वाचन हुन्छ भन्ने निश्चिन्ता भएमा लगानीकर्तामा एक किसिमको आत्मविश्वास जाग्ने छ । यही बीचमा विभिन्न क्षेत्रमा भएको क्षति विर्साउन थोरै भएपनि पुनर्निर्माणको काम अघि बढाउन सकिए लगानीकर्ता थप आश्वस्त हुने परिवेश बन्दछ । लगानीकर्ताहरु छोटो अवधिको उतारचढावमा हतारिनु घातक बन्न सक्छ । लगानीकर्ताको धैर्यले बजारलाई सहज रुपमा टिकाईराख्न सक्छ ।

गत विहीबार बजारमा उच्च गिरावट आएपनि आइतबारको कारोबार केही सम्हालिन सक्छ । बजार घटेपनि गत बिहीबारको जस्तो सर्किट लेबलमा नघट्ने सम्भावना बढी छ र आइतबार पुरै दिन कारोबार हुने अवस्था बन्न सक्छ । पछिल्लो एक दशकमा नेपाली सेयर बजारले विनासकारी भूकम्प र कोभिड–१९ महामारी भोगिसकेको छ । यी दुबै महामारीमा सुरुमा उच्च गिरावट देखिएपनि त्यसपछि बजारले नयाँ उचाई छोएको विर्सनु हुँदैन । २०७२ को भूकम्प पछि नेप्से सूचकले १८८१ को नयाँ उचाई र कोभिडपछिको बजारले ३१९८ को उचाई कायम गरेको थियो । यी दुबै घट्नापछि बजार बजार अंग्रेजी अक्षर ‘भी’ आकारमा बढेको देखिन्छ । विपदपछिको बजार ‘प्यानिक सेलिङ्ग’ बाट सुरु भएपनि दिर्घकालमा लगानीकर्ताको गुमेको पैसा फिर्ता गरेको इतिहास छ । 

चलाख लगानीकर्ताहरुले यस्तै अवसरबाट कमाउने हुन् । उनीहरु यहीबीचमा विभिन्न अफवाह फैलाएर पुनः सेयर एकीकृत गर्न चाहन्छन् । त्यसैले लगानीकर्ता आत्तिएर होइन धैर्य गरेर सेयर खरिद विक्री गर्दा नै बजारमा टिक्न सकिन्छ र त्यसले प्रतिफल पनि दिन्छ । डराएर, हतारिएर सेयर बिक्री गर्नु भनेको आफ्नो सम्पत्ति गुमाउनु हो ।