नागढुंगा-सिस्नेरी सुरुङमार्ग दशैं अघि संचालन गरिने

विज्ञापन
ncell

काठमाण्डौ उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्गबाट बाहिर जाने र दशैंपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गरिने भएको छ ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन् । आजको छलफलमा दशैं अघि नागढुंगा सिस्नेरी सुरुङ मार्ग संचालन गर्ने निर्णय भएको छ ।

संचालनको लागि काठमाण्डौ उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्गबाट बाहिर जाने र दशैंपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गरिने भएको छ ।

मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेका थिए । मन्त्री घिसिङले २४ सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनस्र्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिए । 


के-के भयो निर्णय ?

सुरक्षा व्यवस्थापन सम्बन्धमाः काठमाण्डौ उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्न गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने ।

मालबाहक ठुला सवारी साधनहरु साञ्‍चालन सम्बन्धमाः राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिनु पर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागु हुने गरी ठुला भारबाहन सवारी साधनहरु (१२ चक्के र सोभन्दा माथि) सञ्‍चालन नगर्न नगराउन अनुरोध गर्ने तथा खाध्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने गराउने ।


सडक स्तरोन्नति तथा सुधार सम्बन्धमाः मुलुकभरीका मुख्य सडकहरुलाई चुस्त दुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपदहरुको व्यवस्थापन गर्न आवश्यक समाग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल-नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुई तर्फी यातायात सञ्चालन गर्न, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध हटाई तत्काल यातायात संचालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैं अगाडि नै सञ्‍चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न गराउन सडक विभागलाई निर्देशन दिने। आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने ।


कार्यविधि र निर्देशिका सम्बन्धमाः सार्वजानिक सवारी साधनहरुलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि र निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी यथाशीघ्र मन्त्रालयमा पेश गर्न निर्देशन दिने ।


कन्ट्रोल रुम सम्बन्धमाः मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्‍चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने ।