सामाजिक सुरक्षा परिचयपत्र अब असोजसम्म नविकरण गर्न पाइने
परिचयपत्र नवीकरणको लागि सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति आफैँ उपस्थित भई सम्वन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था छ ।
काठमाडौं । सरकारले सामाजिक सुरक्षा परिचयपत्र अब असोज मसान्तसम्म नवीकरण गर्न पाइने व्यवस्था गरेको छ । गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली २०७६ लाई संशोधन गर्दै साउन मसान्तभित्र भन्ने शब्दको सट्टा असोज मसान्तभित्र भन्ने शब्द राखिएको हो ।
यसअघि परिचयपत्र प्रत्येक आर्थिक वर्षको साउन मसान्तभित्र नवीकरणको लागि सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति आफैँ उपस्थित भई सम्वन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था थियो । यस्तो परिचयपत्रको मान्य अवधि एक आर्थिक वर्षको हुने व्यवस्था छ । यस्तो परिचयपत्र हराएमा वा नासिएमा सम्बन्धित स्थानीय तहबाट प्रतिलिधि लिन सकिने र प्रतिलिपि लिनुपर्दा एक सय रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ ।