आज संविधान दिबसः सैनिक मञ्चमा झाँकी नहुने, दलहरुले आफ्नै पार्टी कार्यालयहरुमा मनाउने
संघीय मोर्चाले असाेज ३ लाई कालो दिनका रुपमा मनाउने
जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्ना पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउँदै छन् ।
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् ।
अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
२०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना दिएका छन् । असाेज ३ लाई सरकारले संविधान दिवसको रुपमा धुमधामका साथ मनाउने गरेको छ भने सो दिन देशैभरि सार्वजनिक बिदासमेत दिइने गरेको छ ।
नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउने तयारीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको थियो । तर ७४ जनाको ज्यान जाने गरी जेनजी युवा आन्दोलनले राजनीतिक उथलउपुथलपछि सामान्य कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिएको छ ।
जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्ना पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउँदै छन् । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएका आ–आफ्नै पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण हुनसक्ने आशंकामा रहेका दलहरुले संविधान रक्षाका लागि खबरदारीसहित दिवस मनाउन लागेको बताएका छन् । दिवस मनाउन लागिएको हो ।
नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउन सर्कुलर जारी गरेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार ‘संयमतापूर्वक, दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय’ भएको छ ।
यसैगरी नेकपा एमालेले काठमाडौंको हकमा जेनजी आन्दोलनको क्रममा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ ।
कार्यक्रम बिहान ८ बजे आयोजना गरिएको छ । सो कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । जेनजी युवा आन्दोलनपछि सरकार छाड्न बाध्य भएका ओली सैनिक व्यारेकको बसाइँपछि आज पार्टी कार्यालयमा सार्वजनिक हुने तयारी छ ।
महासचिव शंकर पोखरेलले आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको कार्यक्रम आयोजना हुने बताएका छन् । एमालेले राजधानी बाहिर ७७ वटै जिल्लामा संविधान तथा लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि वृहत कार्यक्रम आयोजना गरेर दिवस मनाउने छ ।
नेकपा माओवादी केन्द्रले पनि बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संविधान दिवसको कार्यक्रम आयोजना गरेको छ । जेनजी आन्दोलनमा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा पार्टी अध्यक्ष प्रचण्डको सहभागितामा कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउन लागिएको हो । संविधान माथि खतरा पैदा भएको भन्दै माओवादीले हालसम्मको राजनीतिक उपलब्धि रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउने जनाएको छ ।
उता, संघीय लोकतान्त्रिक मोर्चाले असाेज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । संघीय लोकतान्त्रिक मोर्चाका केन्द्रिय सचिवलाय संयोजक डा. शिवजी यादवले एक विज्ञप्ति जारी गर्दै सो नयाँ संविधान २०७२ जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णय भएको जनाएको हो । मोर्चाले सोही सामूहिक रुपमै कालोपट्टी बाँधी संविधानको विरोध गरी प्रदर्शन गर्नेसमेत निर्णय गरेका छ ।
डा. यादवद्वारा जारी सो विज्ञप्तिमा संविधानमा मधेशको असहमति रहँदा बाबजुद पनि राज्यले मधेशीमाथि दमन गरी सो संविधान जारी गरेको उल्लेख गरिएको छ ।
२०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबर्जस्ति एकतर्फी रुपमा संविधान लाद्ने काम भएको र आन्दोलनको मर्म र भावना विपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएको मोर्चाको ठहर छ ।
त्यस्तै, सो दिन प्रहरीको गोली लागि मृत्यु भएको सम्झनामा र संविधानको पुनर्लेखन अथवा परिमार्जन तथा संशोधनको माग राखी संविधानलाई आंशिक रुपमा स्वीकार गरी असोज तीन कालो दिनामा विभिन्न खाले विरोधका कार्यक्रमहरु गरि प्रदर्शन गर्दै आएकोमा सो कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिने विज्ञप्तिमा भनिएको छ ।