आजदेखी सेयर कारोबार : हरेक विध्वंसपछि दबाबमा नेप्से, विक्री चापले १५–२०% क्षतिको आंकलन
राम्रो पक्ष भनेको अहिलेको कठिन अवस्थामा लगानीका अन्य क्षेत्रहरु अनिश्चित भएकाले लगानीकर्ताहरु सेयर बजारमा केन्द्रित हुने सम्भावना हुन्छ ।
काठमाडौँ । एक साताभन्दा बढी बन्द रहेको सेयरको औपचारिक कारोबार स्थल नेपाल स्टक एक्सेचन्ज (नेप्से) आज विहीबार(असोज २) खुल्ने भएको छ । भदौ २३ र २४ गते दुई भएको जेन्जी आन्दोलनका कारण भदौ २४ गतेदेखि रोकिएको सेयर बजार फेरी आजबाट खुल्ने भएको हो । त्यासो त नजिकँदो बडा दशैंका कारण पनि धेरै दिन सेयर कारोबार हुने अवस्था छैन ।
सेयर बजार खुल्ने भएपनि लगानीकर्तामा उत्साह छैन । खासगरि भदौ २४ गते जन्जी आन्दोलनको नाममा भएको विध्ंवसले लगानीकर्तालाई बढी चिन्तित् बनाएको छ । आन्दोलनका दौरान सेयर बजारमा सूचीकृत सीमित कम्पनीमा मात्रै भौतिक क्षति भएपनि समग्रमा ठूलो मानबिय तथा भौतिक क्षति भएका कारण त्यसको असर नेप्सेमा पनि देखिने छ । कतिपय बौद्धिक व्यक्तिहरुले सेयर बजारमा उच्च गिरावट आउने भन्दै सामाजिक सञ्जालमा विभिन्न विचारहरु पस्किएका कारण पनि लगानीकर्तामा थप अन्यौलता छाएको छ ।
राजनीतिक अस्थिरता, आन्दोलनको प्रतिफलस्वरूप कम्पनीहरूमा परेको भौतिक क्षति र दशैं नजिकिँदै गर्दा बेच्ने दबाब तीव्र हुने सम्भावना छ । दशैं जस्तो ठूलो पर्वमा खर्च जुटाउनकै लागि धेरैले सेयर बेच्ने गर्दछन् । सामान्य अवस्थामा पनि दशैं अगाडी सेयर बजार ओरालो लाग्ने गरेको अनुभव छ । सेयर बजारमा कारोबार गर्नेहरुले ठूला चाडपर्व र आफ्ना अन्य कार्यहरुमा आवश्यक रकम यहीँबाट जुटाउने गरेको पाईन्छ । बजार खुलेपछि तत्काल बेच्ने मनसाय धेरैमा रहेकाले केही दिन बजार तिब्र गतिमा घट्ने अनुमान भईरहेको छ । तर, आन्दोलनकै कारण धेरै सूचीकृत कम्पनीमा धेरै क्षति नभएकाले बजार सम्हालिन पनि सक्छ । नयाँ सरकार बनिसकेको छ । अर्थतन्त्र बुझेको व्यक्ति पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बनेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले निजी क्षेत्रलाई कसरी चलायमान गराउन सकिन्छ भनेर छलफल सुरु गरिसकेका छन् । सकारात्मक नीतिहरुले बजारलाई थप घट्नबाट रोक्न सक्छ । तर, अहिलेको सरकार काम चलाउ र निर्वाचन गराउने जिम्मेवारीमा रहेकाले नीतिगत रुपमा धेरै काम गर्दैन । फागुन २१ मा हुने निर्वाचनबाट कस्तो संसद निर्माण हुन्छ ? त्यसपछि कस्तो सरकार बन्छ ? भन्ने मुलुकको राजनीतिक परिवेश अझै स्पष्ट नभएको, पुराना दलहरूले बर्तमान सरकारको विरोध गरिरहेको, जेन्जी आन्दोलनभित्रकै समूहहरुबीच विभाजन र अन्यौलता कायम रहेको, भूराजनीतिक परिवेश विग्रँदै गएको अफवाह फैलाइएका कारण लगानीकर्तामा एक किसिमको दबाब सिर्जना गर्ने भएकाले बजारमा नकारात्मक प्रभाव पार्न सक्छ ।
२०७९ देखिनै सेयर बजार सुस्त रहेको स्थितिमा हालै अपदस्त सरकारले सेयर बजारलाई अर्थतन्त्रको ऐना भनेर प्राथमिकता दिएका कारण केही चलायमान भइरहेको थियो । तर, एकाएक सुरु भएको जेन्जी आन्दोलन र भड्किएको दुईदिने हिंसापछि पूर्वप्रधान न्यायधिस सुशिला कार्कीको नेतृत्वमा अन्तरिम परिषद गठन भएको छ । यद्यपी सरकारले पूर्णता पाइसकेको छैन ।
जेन्जी आन्दोलनले बैंक तथा वित्तीय संस्थाका ५ दर्जन बढी शाखामा तोडफोड, आगजनी र लुटपाटले ३८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यसमा पनि बढी क्षति नेप्सेमा सूचीकृत नरहेको राष्ट्रिय वाणिज्य बैंकको हिस्सा धेरै छ । सूचीकृत भएकामध्ये केही होटल र केबुरकारमा क्षति भएको छ । यसरी क्षति पुगेका कम्पनीको सूचना बाहिर आउनासाथ लगानीकर्तामा एक किसिमको डर पैदा हुँदा सेयर बेच्न हतार गर्ने छन् र त्यसको असर नेप्सेमा पर्ने छ ।
अर्कोतिर भौतिक क्षति खासै नभएपनि बीमा कम्पनीमा बढी दबाब छ । हालसम्म ३० अर्ब रुपैयाँबराबरको बीमा दावी आउन सक्ने प्रारम्भिक अनुमान छ । यद्यपी पुनर्बिमा गरिने भएकाले र ध्वस्त भएको सरकारी संरचनाका कारण क्षतिभन्दा कम दावी आउने देखिन्छ । तथापी लगानीकर्तामा एक किसिमको डलर पैदा हुँदा बीमा कम्पनीमा पनि विक्रीको चाप बढी हुनसक्छ ।
त्यस्तै, अहिले पनि न्यून मूल्यहरुमा चलेका बैंक तथा वित्तीय संस्थाहरुको पनि आगामी दिन खराव हुनसक्ने आंकलनमा विक्री चाप बढ्न सक्छ । किनभने अर्थतन्त्र पुनर्निर्माणको काम नयाँ संसदको निर्वाचनपछि आउने सरकारले अघि बढाउने भएकाले नयाँ संसद कस्तो बन्छ भन्ने एकिन नहुँदासम्म लगानीकर्तामा विश्वास प्रकट गर्न कठिन हुन्छ । यसले बजारलाई थप दबाबमा राख्न सक्छ ।
राम्रो पक्ष भनेको अहिलेको कठिन अवस्थामा लगानीका अन्य क्षेत्रहरु अनिश्चित भएकाले लगानीकर्ताहरु सेयर बजारमा केन्द्रित हुने सम्भावना हुन्छ । त्यसैगरि बर्तमान अर्थमन्त्री खनालकै नेतृत्वमा गत वर्ष उच्चस्तरिय आर्थिक सुझाव सुधार कार्यदलले दिएको प्रतिवेदनमा पुँजी बजारलाई बैंकको विकल्पको रूपमा पुँजी परिचालन गर्ने सशक्त माध्यमका रूपमा उल्लेख गरेको छ । उत्पादनमूलक कम्पनीलाई बजारमा ल्याउने, बाह्य पुँजी प्रवाह बढाउने, गैरआवासीय नेपालीलाई प्राथमिक र दोस्रो बजारमा सहज पहुँच दिने, डेरिभेटिभ र वस्तु विनिमय बजार सुरु गर्ने र बजारलाई दीर्घकालीन र सस्तो लागतको स्रोत जुटाउने माध्यम बनाउने जस्ता सुझाव दिएको थियो ।
उनै खनाल अहिले अर्थमन्त्री बनेका कारण आफूले अघि सारेका सुझावलाई व्यवहारमा उतार्न कोसिस गरेको खण्डमा बजारमा सकारात्मक प्रभाव पर्न सक्छ । तर, तत्काललाई भने राजनीतिक अस्थिरता र आन्दोलनका कारण विश्वास जागृत हुने स्थिति छैन ।
सेयर बजार आर्थिक नीतिसँग मात्र होइन राजनीतिक स्थायीत्वसँग पनि गाँसिएको हुन्छ । पुराना दलहरूले अहिलेको सरकार संविधानविरोधी भन्दै आलोचना गरिरहेका छन् र न्यायलय जाने चेतावनी दिएका छन् । राजनीतिक अस्थिरता बढ्ने संकेतका कारण लगानीकर्ताले अझै सतर्कता अपनाउनेछन् । यस्तो अवस्थामा लगानीकर्ताहरु लामो समयका लागि भन्दा पनि छोटो समयमै आफ्नो रकम सुरक्षित गर्ने मनस्थितिमा काम गरिरहेका हुन्छ । यसले बजारमा खरिदभन्दा बिक्री बढ्नेछ ।
सामाजिक सञ्जालमा लगानीकर्ताहरुले चलाएको बहस, बुजु्रकहरुले दिएका अभिव्यक्ति, अस्थिर राजनीतिका कारण बढ्दो अन्यौल, सेयर बजारको प्राविधिक विश्लेषकहरुको विश्लेष आदिलाई पछ्याउँदा बजार सूचक २२०० विन्दुसम्म झर्ने अनुमान गर्न सकिन्छ । भदौ २३ गते आन्दोलनको सुरुवातकै दिन ३५.९९ अंकले घटेर २६७२.२५ अंकमा झरेको बजारमा अर्को ३०० देखी ४०० अंकको गिरावट देखिने अवस्थालाई नकार्न सकिँदैन । त्यसो त यसअघि नै बजारले आन्दोलनको महसुस गरेका कारण नेप्से सूचक २७०० बाट तल झरेको बताउनेहरु प्रसस्तै छन् ।
विगतको विभिन्न घट्नाक्रमपछिको बजार पनि सुरुमा घट्ने र त्यसपछि सम्हालिँदै अनि उठ्ने गरेको अनुभव छ । २०६२÷६३ को जन आन्दोलन, २०७२ को विनासकारी भूकम्प, २०७६ को कोभिड १९ महामारीका समयमा पनि बजारमा यस्तो दबाब थियो । त्यसैले अबको ३–४ महिना बजारमा एक किसिमको दबाब कायम हुने र निर्वाचन हुने सुनिश्चिता भएको खण्डमा बजारले विस्तारै गति लिने र नयाँ संसद आएर नयाँ सरकार बनेसँगै सेयर बजारले अर्को उचाई छुने सम्भावना छ ।