नागढुंगा-नौबिसे सुरुङमार्ग दसैंदेखि सञ्चालनमा ल्याइने, सेवा प्रदायक छिटो छान्न भौतिक मन्त्री घिसिङको निर्देशन
सरकारले यसअघि नै सुरुङमार्गमा चल्ने सवारीसाधनका लागि लाग्ने टोल शुल्क तोकिसकेको छ । सवारीसाधन अनुसार शुल्क ६५ रुपैयाँदेखि ६०० रुपैयाँसम्म लाग्नेछ ।
काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग दसैंदेखि सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मन्त्रालयमा कर्मचारीहरुको ब्रिफिङपछि दसैंदेखि सञ्चालन गर्ने तयारी गर्न निर्देशन दिएका हुन् ।
सुरुङमार्ग दसैंदेखि सञ्चालनमा ल्याउन र सेवा प्रदायक छान्ने प्रक्रिया अगाडि बढाउन भौतिकमन्त्री घिसिङले निर्देशन दिएका हुन् । सकेसम्म दसैंदेखि नै सुरुङमार्ग संचालन गर्ने तयारी थाल्नू । काम सकिएको भए सुरुङमार्ग सञ्चालन गर्दै जाऔं । सञ्चालनका लागि आवश्यक सेफ्टीलगायत व्यवस्था मिलाऔं । सर्भिस प्रोभाइडर छान्ने प्रक्रिया पनि अगाडि बढाउँदै जानु होला,’ भौतिकमन्त्री घिसिङले आयोजनाका प्रमुखलाई भने ।
त्यसअघि उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र शहरी विकास मन्त्रालयको समेत कार्यभार सम्हालेका भौतिक मन्त्री घिसिङले सुरुङमार्गमा गर्न बाँकी कामबारे आयोजना प्रमुखलाई सोधेका थिए । आयोजना प्रमुखले सबैजसो काम सकिएको र सुरुङमार्गभित्र जडान गरिएका बत्ती सीसी क्यामेरा लगायतको अन्तिम चरणको परीक्षणको काम भइरहेको बताएका थिए ।
आयोजनाका निर्देशक सौजन्य नेपाल नागढुंगा सुरुङमार्ग संचालन गर्न सकिने अवस्थामा रहेको बताउँछन् । नेपालका अनुसार अहिले सुरुङभित्र जडित जेट फ्यान, सीसी क्यामरा, बत्तीलगायत उपकरणको अन्तिम चरणमा परीक्षण भइरहेको छ ।
सरकारले यसअघि नै सुरुङमार्गमा चल्ने सवारीसाधनका लागि लाग्ने टोल शुल्क तोकिसकेको छ । सवारीसाधन अनुसार शुल्क ६५ रुपैयाँदेखि ६०० रुपैयाँसम्म लाग्नेछ । आयोजना सुरुङमार्ग संञ्चालन गर्ने सेवा प्रदायक कम्पनी छनोटका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयबाट बिड डकुमेन्ट स्वीकृत गराउने क्रममा छ । कार्यालयले स्वीकृत गरेपछि कम्पनी छान्न टेन्डर आह्वान गरिनेछ ।