मन्त्रीत्रय रामेश्वर, कुलमान र ओमप्रकाश पुगे संसदको भग्नावशेष हेर्न, सिंहदरबारभित्रैको भवनमा बस्नेछ अबको बैठक

संघीय संसदका दुवै सदनको बैठक चल्दै आएको बीआईसीसी सम्मेलन केन्द्रमा गएको भदौ २३ र २४ गते आगजनी र तोडफोड भएको थियो ।

काठमाडौं । मन्त्रीत्रय रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आगजनीबाट क्षतिग्रस्त संघीय संसद्को भवन अवलोकन गरेका छन् ।

गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो । आगजनीबाट संसद्‍ भवन ध्वस्त भएको थियो ।क्षतिग्रस्त भवनको अवलोकनमा मन्त्रीत्रय खनाल, घिसिङ र अर्याल पुगेका हुन् ।

खनाल अर्थमन्त्री हुन् भने अर्याल गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुन् । घिसिङ सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् ।

बुधबार क्षतिको अवलोकनका लागि पुगेका अन्तरिम सरकारका मन्त्रीहरूले सिंहदरबारभित्रै निर्माण सम्पन्न हुनेक्रममा रहेको भवनबाट संसद बैठक चल्ने बताएका हुन् । संघीय संसदका दुवै सदनको बैठक चल्दै आएको बीआईसीसी सम्मेलन केन्द्रमा गएको भदौ २३ र २४ गते आगजनी र तोडफोड भएको थियो ।

बुधबार अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री खनाल र शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको काम सम्पन्न हुने र त्यही नै संसदको बैठक बस्ने जानकारी दिए । आगामी निर्वाचनपछि सिंहदरबारभित्र निर्माण सम्पन्न हुनेक्रममा रहेको संसद भवनबाट बैठक चल्ने मन्त्री घिसिङले बताए ।

आन्दोलनकारीको आक्रमण र आगजनीबाट ध्वस्त भएको बानेश्वरको बीआईसीसी भवनलाई पुनर्निर्माण गरी पुरानै स्वरुपमा फर्काइने बताउँदै घिसिङले तत्कालै सरसफाइ कार्य सुरु गरेर डिजाइनको प्रक्रियामा अघि बढ्ने र अल्पकालीन, दिर्घकालीन योजनामा पुनर्निर्माण सुरु गर्ने बताए ।