दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार कार्यालय खुल्ने

अर्थ मन्त्रालयले दशैंका दिन (दशमी) बाहेक अन्य सबै सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था र भन्सार कार्यालयहरु खुला राख्ने निर्णय लिएको हो ।

काठमाडौँ । असोज लागेसँगै सार्वजनिक विदाका दिन पनि बैंक तथा वित्तीय संस्था र भन्साय कार्यालयहरु खुला रहने भएका छन् । अर्थ मन्त्रालयले दशैंका दिन (दशमी) बाहेक अन्य सबै सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था र भन्सार कार्यालयहरु खुला राख्ने निर्णय लिएको हो । 

मंगलबार निजी क्षेत्रका प्रतिनिधिहरुको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले मुलुकको असहज स्थितिका कारण सार्वजनिक विदाका दिन पनि तोकिएको कार्यालयहरु खोल्ने जानकारी दिए । त्यसअवसरमा सचिव उपाध्यायले बाढी तथा पहिरोका कारण बन्द भएको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले पहल गरिरहेको पनि बताए ।

रामेश्वर खनाल अर्थमन्त्री भएपछि पहिलो छलफलमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपका उद्योगी तथा व्यवसायी सहभागी थिए ।